काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सामान्य कार्य सम्पादनबाट राजश्वको लक्ष्य भेट्न सम्भव नरहेको बताएका छन् ।
काठमाडौंमा आयोजित राष्ट्रिय कर दिवस–२०८१ को कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले कर प्रणालीलाई आधुनिकीकरण गर्ने, प्रविधिमैत्री जनशक्ति विकास गर्ने, कार्य प्रक्रिया सरलीकरण गर्ने, जोखिममा आधारित कर परीक्षण तथा अनुसन्धान एवं व्यवसायिक सङ्गठन र कार्यविशिष्टीकरण लगायतका सुधारका लागि काम गर्न आग्रह समेत गरे ।
उनले करको दायरा बिस्तार गर्ने, कर दातामैत्री वातावरण सिर्जना गर्ने, कर दाता सेवाको गुणस्तरमा वृद्धि गर्ने, कर छली लगायतका कार्यमा थप सक्रियता अपनाउन आवश्यक रहेको बताए ।
अर्थमन्त्री पौडेलले सूचना प्रविधिको प्रयोगमा बिस्तार एवम् त्यसको गुणस्तरीयता र दिगोपन कायम गर्दै समय र लागत कम हुनेगरी सेवा प्रवाहमा प्रभावकारिता अभिवृद्धि गर्नका लागि थप क्रियाशिल हुनका लागि कर प्रशासनलाई निर्देशन दिए ।
यस्तै उनले सङ्कलन गरिने करको सही सदुपयोगबाट मात्रै देशको समृद्धिको आधार तयार हुनसक्ने बताए । संघीयताले आर्थिक केन्द्रहरु बिस्तार भए पनि त्यो अनुपातमा राजश्व सङ्कलन बढ्न नसकेको उहाँले बताए ।
उनले वक्यौता असुली, बेरुजु फस्र्यौट, आन्तरिक प्रशासनिक पुनरावलोकनको प्रगति गएको वर्षको भन्दा सन्तोषजनक नरहेको बताउनुभयो ।






