काठमाडौँ । पछिल्लो चार महिनाको अवधिमा कुल वस्तु निर्यातमा ४.२ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०८१/८२ को ४ महिनाको अवधिमा ५२ अर्ब ६७ करोड रुपैयाँको वस्तु निर्यात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ७.७ प्रतिशतले कमी आएको थियो ।

नेपाल राष्ट्र बैंकको एक तथ्यांकअनुसार भारततर्फको निर्यातमा ८.४ प्रतिशतले वृद्धि भएको छ भने चीन र अन्य मुलुकतर्फ भएको निर्यातमा क्रमशः १८.३ प्रतिशत र ३.० प्रतिशतले कमी आएको जनाएको छ। त्यस्तै, उक्त अवधिमा वस्तुगततर्फ चिया, पोलिस्टर यार्न तथा थ्रेड, पार्टिकल बोर्ड,  सोयाविन तेल, पिना लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, जिंक सिट, तयारी पोशाक, जुस, अदुवा लगायतका वस्तुको निर्यात घटेको छ।

आर्थिक वर्ष २०८१र८२ को चार महिनामा कुल वस्तु आयात ०.२ प्रतिशतले वृद्धि भएर ५१३ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा ३.८ प्रतिशतले कमी आएको थियो ।

वस्तु आयात गरिने मुलुकका आधारमा भारत र चीनबाट भएको आयात क्रमशः ०.९ प्रतिशत र २.९ प्रतिशतले वृद्धि भएको छ भने अन्य मुलुकबाट भएको आयतमा ५.० प्रतिशतले कमी आएको छ । आर्थिक वर्ष २०८१/८२ को चार महिनामा कुल वस्तु व्यापार घाटामा ०.३ प्रतिशतले कमी आई .४६० अर्ब ७२ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा ३.३ प्रतिशतले कमी आएको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १०.३ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९.९ प्रतिशत रहेको थियो ।

वस्तुगत आधारमा यातायात उपकरण, सवारी साधन तथा अन्य सवारी साधनका स्पेयर पार्टस्, खाने तेल, स्पन्ज आइरन, लसुन, दूरसञ्चार उपकरण तथा पार्टस्लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, सुन, कच्चा पाम तेल, हवाईजहाज स्पेयर पार्ट्स , विद्युतीय उपकरण लगायतका वस्तुको आयात घटेको छ ।

निर्याततर्फ भैरहवा, विराटनगर, वीरगन्ज, सुक्खा बन्दरगाह, कैलाली, कृष्णनगर, मेची, नेपालगञ्ज र रसुवा भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ ।