काठमाडौं । बीमा ऐन २०७९ लागू भएसँगै सो ऐनलाई कार्यान्वयन गर्नका लागि निर्माण भएको बीमा नियमावलीको मस्यौदा हाल अर्थ मन्त्रालयमा विचाराधीन छ । ऐनले गरेका कतिपय व्यवस्था लागु पनि भैसकेका छन् भने धेरै व्यवस्थाको कार्यान्वयनका लागि नियमावली जारी हुनु आवश्यक छ । यस्तै अर्थ मन्त्रालयमा विचाराधीन रहेको बीमा नियमावलीको मस्यौदामा ‘बीमा एग्रिगेटर’ लाई सञ्चालनको अनुमति दिने प्रस्ताव समेत गरिएको छ ।
अर्थ मन्त्रालयमा विचाराधीन रहेको बीमा नियमावलीको परिच्छेद ९ को बुँदा ६८ को १ मा ‘बीमकले उपलब्ध गराउने बीमालेखको विशेषता तथा बीमाशुल्क समेतको तुलनात्मक विश्लेषण गरी उपयुक्त बीमालेख छनोट गर्न सहयोग गर्ने उद्देश्यले स्थापित कुनै पनि सङ्गठित संस्थाले निवेदन पेस गरेमा प्राधिकरणले ’ नियमावलीको मस्यौदामा प्रस्ताव गरिएको छ ।
यो प्रस्तावसहित बीमा नियमावली मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि नेपालमा पनि बीमा एग्रिगेटर कम्पनीले सञ्चालनको अनुमति पाउनेछन् । विश्वका अन्य धेरै मुलुकहरूमा बीमा एग्रिगेटरको नियम भए पनि प्रस्तावित बीमा नियमावली जारी भएपछि नेपालमा पनि एग्रिगेटर कम्पनीहरूले सञ्चालनको अनुमति पाउने छन् ।
बीमा एग्रिगेटर भनेको के हो ?
कुनै बीमा कम्पनी अन्तर्गत नभएर छुट्टै स्वतन्त्र तर सङ्गठित रूपमा बीमा अभिकर्ताको काम गर्ने कम्पनीलाई बीमा एग्रिगेटरको रूपमा परिभाषित गर्न सकिन्छ । प्रस्तावित बीमा नियमावलीले नै बीमा एग्रिगेटरलाई ‘बीमकले उपलब्ध गराउने बीमालेखको विशेषता र बीमाशुल्क समेतको तुलनात्मक विश्लेषण गरी उपयुक्त सर्त तथा बीमालेख छनोट गर्न सहयोग गर्ने उद्देश्यले स्थापित सङ्गठित संस्था’ को रूपमा परिभाषित गरेको छ । एग्रिगेटर कम्पनीले ग्राहकले एकै ठाउँ वा एक जनालाई भेटेर सबै कम्पनीले उपलब्ध गराउने बीमा पोलिसिका बारेमा बुझ्न र छनोट गरेर खरिद गर्न सक्नेछन् ।
के–कस्ता सुविधा दिन्छन् बीमा एग्रिगेटर कम्पनीले ?
एग्रिगेटर कम्पनीहरूले ग्राहकहरूलाई यो वा त्यो कम्पनीको नभनी स्वतन्त्र रूपमा ग्राहकहरूको आवश्यकता र क्षमतालाई बुझेर सबै बीमा कम्पनीहरूको पोलिसि छनोट गरेर खरिद गर्न सुझाव दिने गर्छन् । यसका साथै बीमा कम्पनीहरूले उपलब्ध गराउने बीमालेखको विशेषता र बीमाशुल्कको विश्लेषण गरी बिमीतहरुको आम्दानी र आवश्यकता अनुसारका बीमा गर्न एग्रिगेटरहरुले मद्दत गर्ने गर्छन् ।
यस्तै बीमा क्षेत्रमा रहेका समस्याहरूको अध्ययन तथा अनुसन्धान गरी तिनको समाधानसँगै ठाउँ, परिवेश र आवश्यकता अनुसारको बीमा नीति बनाउनमा पनि एग्रिगेटरहरुले सहजकर्ताको भूमिका निर्वाह गर्न सक्छन् ।
विगत ६ वर्षदेखि नेपालमा सञ्चालनमा रहेको बीमा दोकान पनि एग्रिगेटरकै अवधारणामा सञ्चालन भइरहेको छ । जसले ग्राहकहरूलाई यो वा त्यो कम्पनीको नभनी स्वतन्त्र रूपमा ग्राहकहरूको आवश्यकता र क्षमतालाई बुझेर सबै बीमा कम्पनीहरूको पोलिसि छनोट गरेर खरिद गराउँदै आएको छ । भने विभिन्न क्याम्पेनिङहरु सञ्चालन गरी बीमा कम्पनीहरूले उपलब्ध गराउने बीमालेखको विशेषता र बीमाशुल्कको विश्लेषण गरी बीमाभित्र पर्ने जीवन तथा निर्जीवन बीमाका सम्पूर्ण पोलिसीहरु ग्राहकलाई किन्नका लागि सुझाव समेत दिँदै आएको छ ।
नेपालमा एग्रिगेटर कम्पनीको आवश्यकता र महत्त्व
बीमा क्षेत्रमा रहेका यावत समस्याको समाधानको लागि नेपालमा बीमा एग्रिगेटर कम्पनीहरूको आवश्यकता रहेको यस क्षेत्रका जानकारहरू बताउँछन् । बीमा सम्वधि साक्षरता कम भएको हाम्रोजस्तो देशमा बीमा एग्रिगेटरहरुले थोरै मात्र भए पनि बीमितहरुलाई बीमा र पोलिसि सम्बन्धी ज्ञान दिने भएकोले आजको समयमा यसको आवश्यकता रहेको उनको बीमाबिज्ञ डा. रवीन्द्र घिमिरेको भनाई छ ।
‘अहिलेको समयमा नेपालमा बीमा एग्रिगेटरको आवश्यकता छ कि छैन भनेर बुझ्नुपर्छ, यस्तो भनिरहँदा हाम्रोजस्तो मुलुकमा एग्रिगेटरको एकदम आवश्यकता छ । यस्तो व्यवस्था भएमा बीमितले आफ्नो आवश्यकता अनुसारको बीमा पोलिसिहरु किन्न पाउँछन् ।’ डा।घिमिरेले आर्थिक भ्वाइससँगको कुराकानीको क्रममा भने ।
एग्रिगेटर कम्पनीहरूले मान्यता पाएको खण्डमा बीमा क्षेत्रमा देखिएका पोलिसि सरेण्डर लगायतका समस्याहरू थोरै हदसम्म भए पनि कम हुने उनको विश्वास छ । यस्तै बीमाको दायरा बढाउनमा र बीमा सम्बन्धी सचेतना जगाउनमा एग्रिगेटर कम्पनीहरूले भूमिका निर्वाह गर्न सक्ने उनको भनाई छ ।
यता नेपाल बीमा प्राधिकरणका निर्देशक सुशील देव सुवेदीले भने अर्थ मन्त्रालयमा विचाराधीन बीमा नियमावली जारी भइसकेपछि यस सम्बन्धी प्राधिकरणले निर्देशिका जारी गरेअनुरूप नै एग्रिगेटर कम्पनी नेपालमा सुरु गर्न सकिने बताए ।
उनका अनुसार, अहिले बीमा क्षेत्रमा देखिएका विभिन्न समस्याहरू बीमितले पर्याप्त रूपमा सही सूचना नपाएको वा गलत सूचना पाएका कारणले देखिएको भन्दै नेपालमा पनि ऐग्रिगेटरको अवधारणा आएपछि केही कमी पक्कै हुन्छन् ।
‘बीमा क्षेत्रमा जति पनि समस्याहरू अहिलेको समयमा देखिएका छन्, ती सबै पर्याप्त सूचनाको कमी वा गलत सूचनाको कारणले देखिरहेका छन् । अन्य देशहरूमा एग्रिगेटरको अवधारणाले राम्रो काम गरिरहेको छ । नेपालमा पनि यसले राम्रै काम गर्छ ।’ उनले भने ।
एग्रिगेटरले मान्यता पाएमा कुन बीमा कम्पनीले कस्ता सुविधा ल्याएका छन्, भन्ने कुरा संस्थागत रूपले कुनै निश्चित प्रणाली मार्फत सेवाग्राहीले पाउन सक्छन् ।
‘यस्तै बीमा कम्पनीहरूले प्रदान गर्ने सबै सुविधाहरूलाई तुलना गरेर सेवाग्राही सम्म पुराउनमा एग्रिगेटरले भूमिका निर्वाह गर्छन् , जहाँबाट पब्लिकले आफु अनुकुलको सेवा लिन सक्छन् । नेपालमा हाल यस्तो व्यवस्था छैन तर यो व्यवस्था आएमा पब्लिक कन्फ्युज हुने अवस्थाको अन्त्य हुने विश्वास प्राधिकरणले लिएको छ ।’ निर्देशक अधिकारीले आर्थिक भ्वाइससँग कुराकानी गर्दै भने ।






