काठमाडौँ । गत वर्षको तुलनामा यस वर्ष निर्यातमा अनपेक्षित रूपमा वृद्धि भएको छ । साथै आयातमा समेत सामान्य सुधार देखिएको छ ।
राष्ट्रिय सभामा प्रस्तुत तथ्यांक अनुसार गत पुस महिनासम्मको अवधिमा कूल वस्तु निर्यात अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३१.८ प्रतिशतले वृद्धि भएर ९८ अर्ब ७९ करोड कायम भएको छ ।
गत आर्थिक वर्षको सोही अवधिमा यस्तो निर्यात ७.२ प्रतिशतले कमी आएको थियो। समीक्षा अवधिमा कुल वस्तु आयात ७.१ प्रतिशतले वृद्धि भएर ८ खर्ब २२ अर्ब ३७ करोड कायम भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कुल वस्तु आयात ३.१ प्रतिशतले घटेको थियो।
भन्सार विभागका अनुसार निर्यातसँगै आयातमा पनि १० प्रतिशतले बढेको छ । माघ मसान्तमा आयात ९ खर्ब ८८ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा ८ अर्ब ९७ अर्ब ९४ करोड रुपैयाँ मात्रै रहेको विभागले जनाएको छ ।
समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा ४.४ प्रतिशतले वृद्धि भएर ७ खर्ब २३ अर्ब ५८ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २.६ प्रतिशतले घटेको थियो ।
यस अवधिमा नेपालको कुल वैदेशिक व्यापारमा १३ प्रतिशतले बढेको छ । त्यस्तै सोही अवधिमा आयात र निर्यातको बजार ११ खर्ब १५ अर्ब रुपैयाँ पुगेको छ । कुल वैदेशिक व्यापारमा ११.४० प्रतिशत हिस्सा निर्यातको रहेको छ भने आयातको हिस्सा ८८.६० प्रतिशत रहेको तथ्यांकमा उल्लेख छ ।
समीक्षा अवधिसम्म विप्रेषण आप्रवाह नेपाली मुद्रामा ४।१ प्रतिशतले वृद्धि भएर ७ खर्ब ६३ अर्ब ८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २२.२ प्रतिशतले बढेको थियो ।
२०८१ पुस मसान्तमा कुल विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तको २० खर्व ४१ अर्ब १० करोडको तुलनामा १३.५ प्रतिशतले वृद्धि भएर २३ खर्व १६ अर्ब ८४ करोड कायम भएको छ ।







