काठमाडौं । आम नागरिकको घरमा अब लोडसेडिङ नहुने ऊर्जा,जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले बताएका छन् ।
बुधबार सान्जेन खोला हाइड्रोपावरले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री खड्काले औधोगिक क्षेत्रमा प्रयाप्त विद्युत दिन नसकेपनि आम नागरिकको घरमा अब लोडसेडिङ फर्किने कसरा कल्पना समेत गर्न नपर्ने बताएका छन् ।
उनले विद्युत प्राधिकरणको आर्थिक अवस्था त्यति राम्रो नभए पनि प्रचुर मात्रामा सुधार गर्ने ठाउँ रहेको धारणा राखे । अहिले प्राधिकरणले योग्य र दक्ष नेतृत्व पाएको भन्दै उनले आर्थिक सुशासन कायम गरेर प्राधिकरणलाई अघि बढाउने जिम्मेवारी पुरा हुने विश्वास व्यक्त गरे।
मन्त्री खड्काले ऊर्जा क्षेत्रको विकासले मुलुकको समृद्धि हुनसक्छ भन्ने सोचका साथ १० वर्षमा २८ हजार मेगावाट भन्दा बढी विद्युत उत्पादन गर्ने लक्ष्य लिइएको जिकिर गरे । यसका लागि चीन–भारतजस्ता छिमेकी मुलुकको सहयोग महत्वपूण रहेको उनले बताए।







