काठमाडौँ । ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले पूर्वाधार समितिको बैठकमा बोल्दै विद्युत् प्राधिकरणले जारी गरेको श्वेतपत्र यथार्थपरक रहेको बताएका छन्।

बुधवारको पूर्वाधार समितिको बैठकमा खड्काले यस्तो दाबी गरेका हुन्। उनले हालको विद्युत् प्राधिकरणको नाफा र घाटा के हो भन्ने सन्दर्भमा पूर्व एमडी गएपछि अडिट नभएको र नयाँ एमडी आएपछि पनि त्यो काम हुन नसकेको जनाएका छन्।

खड्काले पूर्व एमडी कुलमान घिसिङ हुँदैका बेलामा बोर्ड निर्णय गरेर प्रस्तावलाई अडिट गर्नुपर्छ भनेको बताए। उक्त समयमै महालेखा परीक्षकले प्राधिकरणको घाटा देखाइरहेको तर तत्कालीन कार्यकारी निर्देशक घिसिङले भने नाफा देखाएको उनको भनाई छ ।

उनले २६ वटा आयोजना ट्रान्समिसन लाइनका निर्माण गर्ने ठेकेदारहरूले पैसा माग्दा दिन नसकेको तर नाफा देखाउने काम भएकाले अन्तर्राष्ट्रिय स्तरको त्यसको पूरा अडिट गर्ने निर्णय समितिले गरेको समेत बताएका छन् ।

अडिट भएअनुसार जस्ताको त्यस्तै बाहिर ल्याउने भन्दा कार्यान्वयन गर्न कुलमानले नमानेको आरोप खड्काले लगाएका छन्। त्यसकारणले पनि एमडी परिवर्तन हुने बित्तिकै श्वेतपत्र जारी गर्न लगाइएको बताए। प्राधिकरणका कमजोरीहरूको अझ बढी छानबिन गर्ने गरी सरकार अघि बढेको उनको भनाई छ । मन्त्री खड्काले दायित्व घटाएपछि पो नाफा र घाटा आउने  धारणा राखेका छन् ।