काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले पुस ३० गते बुधबार वार्षिक साधारणसभा आह्वान गरेको छ। एलआईसीको हिजो बसेको सञ्चालक समितिको बैठकले पुस ३० गते बुधबार ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बिहान ११ः१५ बजे चौबीसौं वार्षिक साधारणसभा बोलाएको हो।
सभाले हाल कायम चुक्ता पूँजीको २१.०५२६ प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव पारित गर्नेछ। साथै संस्थापक एवं स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, सञ्चालक समितिको बैठक भत्ता बढाउने, सामाजिक उत्तरदायित्वमा भएको खर्च अनुमोदन गर्ने प्रस्ताव पनि पारित गर्नेछ।
त्यसैगरी गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गर्ने र चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस १७ गते एक दिन बुक क्लोज गरिने पनि कम्पनीले जानकारी दिएको छ।







