काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव कायमै रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भू–भागमा पूर्णतया बदली रहनेछ भने बाँकी पहाडी क्षेत्र र तराईमा आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ। यस क्रममा उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मध्यम खालको हिमपात र वर्षा हुनसक्ने अनुमान गरिएको छ।
यस्तै, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको छ। बागमती, मधेस र कोशी प्रदेशका पहाडी भागका केही स्थान तथा कोशी प्रदेशको तराईका एक–दुई स्थानमा हल्का वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।
आज राति भने देशका पहाडी तथा हिमाली भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपात तथा वर्षाको सम्भावना रहेको छ।
हिमपात र वर्षाका कारण दैनिक जनजीवन, पर्यटन गतिविधि, स्वास्थ्य सेवा तथा हवाई र सडक यातायातमा असर पर्न सक्ने भन्दै महाशाखाले आवश्यक सतर्कता अपनाउन सबै सरोकारवालालाई अनुरोध गरेको छ।







