काठमाडौँ। नवलपरासी, रामग्राम नगरपालिका–३ की प्रभा ज्ञवाली जन्मजातै आत्मनिर्भर बन्ने संस्कार बोकेकी छोरी हुन्। उनले जीवनका कठिनाइ, चुनौती र असफलतालाई आफ्नो अनुभवमा रूपान्तरण गर्दै बीमा व्यवसायमा उत्कृष्टता हासिल गरेकी छन्।

उनी लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआइसी नेपाल)की एक सफल अभिकर्ता हुन्। सम्भवतः उनी बीमा क्षेत्रबाटै सबैभन्दा बढी सन्तुष्ट व्यक्ति पनि हुन्। प्रभाले सानै उमेरदेखि केही गर्नुपर्छ भन्ने सोचले आफ्नो जीवनलाई अगाडि बढाइन्। हाल उनका दुवै छोरा अमेरिकामा पीएचडी गर्दै छन्। उनकी बुहारी पनि अमेरिकामै पीएचडी गरिरहेकी छिन्।

उनी व्यक्तिगत जीवनमा जस्तै सामाजिक जीवनमा पनि योगदान दिन क्षमतावान र सफल महिला अभिकर्ता हुन्। प्रभा ज्ञवाली हालसम्म लगातार पाँच पटक टेबल अफ द टप (टीओटी) बन्न सफल भइसकेकी छन्। त्यसैगरी उनी लगातार १८ पटक एमडीआरटी हासिल गर्ने उच्च उपलब्धि प्राप्त अभिकर्ता पनि हुन्।

प्रभाको बाल्यकाल र प्रारम्भिक जीवन

प्रभा ज्ञवालीको जन्म बर्दियाको राजापुरमा भएको हो। उनका बुबा सरकारी जागिरे थिए। जागिरकै सिलसिलामा बुवाको सरुवा भएपछि २०४० सालदेखि परासीमै उनको बसाइँसराइ भयो। उनको बिहे भने अर्घाखाँचीमा भएको हो।

प्रभाले साना बालबच्चासँगै जीवनका प्रारम्भिक चुनौतीहरू सामना गरिन्। जीवनमा आत्मनिर्भर भएर जिउनुपर्छ भन्ने भावना बोक्ने प्रभा सानै उमेरदेखि अरूभन्दा भिन्न सोच राख्थिन्।

“हुने बिरुवाको चिल्लो पात” भनेझैँ १८–१९ वर्षको उमेरदेखि नै उनले जब गर्न सुरु गरिन्। उनले बोर्डिङ स्कुलमा पढाइन्। आफ्नो मेहनत र लगनशीलताबाट सानैदेखि उनी आत्मनिर्भर थिइन्।

एलआइसी नेपालमा प्रवेश

सन् २००३ को डिसेम्बरमा एक वैवाहिक कार्यक्रममा एलआइसी नेपालका एजेन्सी म्यानेजरसँग प्रभाको भेट भयो। एजेन्सी म्यानेजरले उनलाई बीमा व्यवसायमा आउन प्रस्ताव गरे। त्यतिबेला उनी २२ वर्षकी मात्र थिइन्। मार्केटिङमा आफू सबल रहेकाले उनले अभिकर्ता बन्ने आँट गरिन्।

त्यो समयमा धेरै मानिसलाई बीमाको महत्त्व थाहा थिएन। अधिकांश मानिसहरूले बीमा भनेको केवल मरेपछि मात्र लाभ पाइन्छ भन्ने धारणा राख्थे। त्यसबेला युनिटी लाइफ इन्टरनेसनलको बदमासीले बीमा वातावरण झनै बिग्रिएको थियो।
महिलाको रूपमा बीमा अभिकर्ता बन्दा प्रभालाई थप चुनौतीहरू नहुने कुरै भएन।

यस्ता छन् प्रभाका बिर्सनै नसकिने पलहरू

प्रभा ज्ञवालीको बीमा यात्रा केवल सफलताको कथा मात्र होइन, साहस, संघर्ष र आफ्नो मूल्य रक्षाको कथा पनि हो। महिला भएर बीमा क्षेत्रमा काम सुरु गर्दा उनलाई धेरै चुनौतीहरू सामना गर्नु परेको थियो।

प्रभा भन्छिन्, “महिला भएर स्कुटर चढ्नु नै त्यो बेला ठूलो कुरा थियो। २००४र०५ सालतिरको कुरा हो। मलाई मानिसहरूले बीमा गर्न भनी टाढा–टाढासम्म बोलाउँथे, तर त्यहाँ पुग्दा फोन नै उठाउँदैनथे। निराश भएर फर्किनुपर्दा मनमा असाध्यै पीडा हुन्थ्यो।”

लुटपाटको सामना

उनीमाथि लुटपाटको घटना समेत भयो। नवलपरासीको त्रिवेणीमा आर्मी ब्यारेक छ। त्यहाँबाट बीमाको रकम संकलन गर्न उनी नहरको सुनसान बाटो भएर स्कुटरमा जान्थिन्।

उनले भनिन्, “म जाँदा खाली हात जान्थेँ तर फर्किँदा डेढ–दुई लाख रुपैयाँसम्मको रकम साथमा हुन्थ्यो। त्यस बेला केही युवकहरूले मलाई लुट्ने योजना बनाइरहेका रहेछन्। भर्खरै स्कुटर सिकेकी म एकदिन लुटपाटमा परेँ। नहरको सुनसान बाटोको फाइदा उठाउँदै पाँच–छ जना केटाहरूको समूहले मलाई स्कुटरबाट लडाए। मलाई चोट पनि लाग्यो। म उठ्न नपाउँदै डिग्गीमा भएको पैसा निकालेर उनीहरू भागे।”

त्यो दिनको घटना उनको मनमा कहिल्यै नबिर्सिने गरी बसेको छ। तर यी र यस्ता चुनौतीहरूले पनि प्रभालाई रोक्न सकेनन्। उनले आफ्नो खल्तीबाट बीमितको पैसा बुझाएर उनीहरूको सुरक्षा सुनिश्चित गरिन्। उनले ती बीमितहरूको लुटिएको पैसा पनि आफ्नै कमाइबाट तिरेर बीमा व्यवसायलाई निरन्तरता दिइन्।

अनपेक्षित सफलता

संघर्ष र चुनौती त छँदै थिए। कहिलेकाहीँ सफलताका क्षणहरूले पनि प्रभालाई हर्षित बनाउँथे। एकपटक पोखरामा एउटा क्लाइन्टले १ लाखको बीमा गर्ने कुरा भएको थियो, तर उनले पोखरामा भेटेपछि एकैपटक २० लाख रुपैयाँ भुक्तानी गर्दै बीमा गरे। अपेक्षाभन्दा बढीको बीमा बिक्री गर्न सफल भएको उक्त क्षणलाई सम्झँदै प्रभा भन्छिन्, “त्यो क्षण मेरो जीवनकै अविस्मरणीय क्षण थियो। मैले महसुस गरेँ कि मेहनत र इमान्दारीताले सधैं राम्रै नतिजा दिन्छ।”

बीमाले दिएको सम्मान

प्रभाको बिर्सनै नसकिने बीमा अभिकर्ता यात्राको क्षणमा कोरोनाकालको एउटा घटना पनि छ। एकपटक कोरोनाकालमा बीमा गरेको मात्र छ दिनमै एक क्लाइन्टको आकस्मिक मृत्यु भयो।

उनको फाइल पनि तयार भएको थिएन, रसिद मात्रै थियो। धेरैले भने, पैसा पाइँदैन। तर प्रभाले चार दिनमै बीमा दाबी रकम परिवारलाई उपलब्ध गराइन्।

उनले भनिन्, “बीमाको १ करोड रुपैयाँ उक्त परिवारले पाएर हाल आफ्ना छोराछोरीको शिक्षा अघि बढाइरहेका छन्। बाटोमा कहिलेकाहीँ भेट हुँदा बिमित परिवारका सदस्य मेरो खुट्टै ढोग्न आउँछन्। बीमा साँच्चै सम्मानजनक पेसा र सामाजिक सेवा हो भन्ने मलाई उक्त घटनापछि राम्रैसँग महसुस भयो। त्यो दिन बीमा गर्नाले आज उनको परिवारको चुलो बलेको छ।”

पेसाप्रतिको अटल प्रतिबद्धता

धेरै उतारचढाव, पीडा र उपलब्धिहरू पार गरेपछि आज प्रभा ज्ञवाली बीमा पेसालाई केवल आम्दानीको माध्यम मात्र मान्दिनन्, बरु जीवनकै पहिचानका रूपमा लिन्छिन्। उनका लागि यो काम रोजगारी मात्र होइन, आत्मसन्तुष्टिको आधार पनि हो।

उनी भन्छिन्, “बीमा मेरो रुचिअनुसारको काम हो, त्यसकारण पनि म यो पेसामा एकदमै सन्तुष्ट छु। बीमा क्षेत्रमै मैले आफूलाई सबैभन्दा बढी सन्तुष्ट व्यक्तिका रूपमा पाएकी छु।”

यति मात्रै होइन, उनले आफ्नो भविष्य पनि यही क्षेत्रमा समर्पित गर्ने बताएकी छिन्। उनकै शब्दमा, “अब फर्केर म अरू कुनै सेक्टरमा जाँदिन भनेर मैले आफैँसँग कमिटमेन्ट गरेकी छु। मेरा १८ हजारभन्दा बढी क्लाइन्टहरूलाई पनि यही प्रतिबद्धता सुनाएकी छु।”

उनको यो वाचाले उनी आफ्नो पेसाप्रति कति समर्पित छिन् भन्ने स्पष्ट देखाउँछ।

महिलालाई प्रभाको प्रेरणादायी सन्देश

बीमा क्षेत्रमा लामो अनुभव सँगालेकी प्रभा महिलाहरूका लागि प्रेरणाको स्रोत बनेकी छन्। उनी भन्छिन्, “जुनसुकै क्षेत्रमा पनि सफलता पाउनका लागि मनभित्र दृढ संकल्प हुनैपर्छ। चाहे बीमा क्षेत्र होस् या अन्य कुनै क्षेत्र, सबैभन्दा पहिले आफ्नै मनमा कमिटमेन्ट हुनुपर्छ। आफ्नो लक्ष्य तोक्दै त्यसतर्फ निरन्तर अघि बढ्नुपर्छ। आत्मबल नै सबैभन्दा ठूलो शक्ति हो।”
सफलता पाउने मूल मन्त्र भनेकै लगनशीलता र फोकस रहेको प्रभाको भनाइ छ।

“बीमा क्षेत्रमा त अझ बढी फोकसका साथ काम गर्नुपर्छ, किनकि बीमा क्षेत्र दीर्घकालीन सम्बन्धको क्षेत्र हो। आज तपाईंले कसैलाई बीमाको बारेमा बुझाउनुभयो भने त्यसको नतिजा तुरुन्त नआउन सक्छ, तर भविष्यमा पनि आउन सक्छ भन्ने सोचेर अघि बढ्नुपर्छ।”

श्रीमतीको प्रेरणाले बीमा क्षेत्रमा सफल एलआईसी नेपालका अभिकर्ता अधिकारीको टीओटीसम्मको यात्रा

महिलाहरूको विशेष क्षमता बारे पनि प्रभा स्पष्ट छिन्। उनी भन्छिन्, “महिलाहरूलाई क्लाइन्टलाई कन्भिन्स गर्न अझ सजिलो हुन्छ। महिलाप्रति विश्वसनीयता बढी हुने गरेको मेरो अनुभव छ।” आफ्नो लामो यात्राबाट निस्किएको जीवनदर्शन सुनाउँदै उनी थप्छिन्, “समुद्रमा छिरेपछि मोती लिएर फर्किने कि बालुवा लिएर फर्किने भन्ने कुरा आफ्नै हातमा हुन्छ।”

समग्रमा प्रभा ज्ञवालीको यात्रा केवल व्यक्तिगत सफलता हासिल गर्ने कथा होइन, बीमा पेसामार्फत हजारौँ परिवारको भविष्य सुरक्षित बनाउने निरन्तर प्रयासको उदाहरण पनि हो। संघर्ष, जोखिम र निराशाका अनेक मोड पार गर्दै उनले इमान्दारिता, प्रतिबद्धता र सेवाभावकै बलमा आफूलाई स्थापित गरिन्। टीओटी र एमडीआरटी जस्ता अन्तर्राष्ट्रिय मान्यताले उनको व्यावसायिक उचाइ देखाए पनि उनलाई सबैभन्दा ठूलो पुरस्कार भनेको सेवाग्राहीको विश्वास र सम्मान नै हो।

आज प्रभा धेरैका लागि प्रेरणा बनेकी छन्—विशेष गरी ती महिलाहरूका लागि, जो आत्मनिर्भर बन्ने सपना देखिरहेका छन्। उनको जीवनले स्पष्ट सन्देश दिन्छ, लक्ष्यप्रति अडिग रहने हो भने समुद्रबाट मोती लिएर फर्किन असम्भव हुँदैन।