काठमाडौँ । शिखर पावर डेभलपमेन्ट लिमिटेडले सर्वसाधारण लगानीकर्ताका लागि आजबाट प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले कुल १८ लाख ४२ हजार ६ सय कित्ता साधारण सेयर सार्वजनिक रूपमा बिक्रीमा ल्याएको जनाएको छ।

जारी गरिएका सेयरमध्ये १ लाख ११ हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ भने ४४ हजार ४०० कित्ता कम्पनीका कर्मचारीहरूका लागि छुट्याइएको छ। इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

आईपीओमा आवेदन दिन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा तिनका तोकिएका शाखामार्फत आवेदन दिन सकिने व्यवस्था गरिएको छ। साथै, लगानीकर्ताले ‘मेरो सेयर’ प्रणाली प्रयोग गरी अनलाइनमार्फत पनि आवेदन पेश गर्न सक्नेछन्।

कम्पनीका अनुसार यो आईपीओ छिटोमा फागुन २६ गतेसम्म र आवश्यक परे चैत १ गतेसम्म खुला रहनेछ। निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी ग्लोबल आइएमई क्यापिटल लिमिटेडले सम्हालेको छ।

नेपाल धितोपत्र बोर्डबाट कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा कुल ३२ लाख कित्ता साधारण सेयर निष्कासन गर्न अनुमति प्राप्त गरेको थियो। सो स्वीकृतिअनुसार पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपाली तथा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि सेयर बिक्री गरिसकिएको छ भने हाल दोस्रो चरणअन्तर्गत सर्वसाधारणका लागि आईपीओ खुला गरिएको हो।