काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत समानुपातिकतर्फको मतगणना लगभग सम्पन्न भएको छ। अब दलहरूले प्राप्त गरेको सदर मतका आधारमा सिट बाँडफाँटको प्रक्रिया अघि बढ्ने भएको छ।

निर्वाचन आयोगका सहप्रवक्ता कुलबहादुर जिसीका अनुसार प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीको मतगणना सकिएको छ। यद्यपि गोरखा र इलामका दुई निर्वाचन क्षेत्रको मतगणना सम्पन्न भए पनि ती विवरण अझै केन्द्रीय प्रणालीमा प्रविष्ट भइसकेका छैनन्।

हालसम्म प्राप्त विवरणअनुसार प्रत्यक्षतर्फ १२५ सिट जितेर सबैभन्दा ठूलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फ पनि उल्लेख्य मत प्राप्त गरेको छ। रास्वपाले समानुपातिकतर्फ ५१ लाख ३९ हजार २३५ मत प्राप्त गरेको छ। उक्त मतका आधारमा रास्वपाले समानुपातिकबाट करिब ५७ सिट पाउने देखिएको छ। यसरी प्रत्यक्ष र समानुपातिक सिट जोड्दा रास्वपाको दुई तिहाइ बहुमत पुग्न करिब २ सिट कम हुने अनुमान गरिएको छ।

त्यसैगरी, प्रत्यक्षतर्फ १८ सिट जितेको नेपाली कांग्रेसले समानुपातिकतर्फ १७ लाख ४९ हजार ५८३ मत प्राप्त गरेको छ। प्राप्त मतका आधारमा कांग्रेसले समानुपातिकबाट करिब २० सिट थप्ने अनुमान गरिएको छ। प्रत्यक्षतर्फ ९ सिट जितेको नेकपा एमालेले समानुपातिकतर्फ १४ लाख ५१ हजार ७५९ मत प्राप्त गरेको छ। यस आधारमा एमालेले समानुपातिकबाट थप १६ सिट पाउने देखिएको छ र समग्र परिणाममा पनि तेस्रो शक्तिका रूपमा उभिएको छ।

यस्तै, प्रत्यक्षतर्फ ७ सिट जितेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले समानुपातिकतर्फ ८ लाख ९ हजार ७१ मत प्राप्त गरेको छ। उक्त मतका आधारमा सो पार्टीले समानुपातिकबाट करिब ९ सिट पाउने सम्भावना देखिएको छ। चार महिनाअघि मात्रै गठन भएको श्रम संस्कृति पार्टीले पनि उल्लेख्य मत प्राप्त गरेको छ। प्रत्यक्षतर्फ ३ सिट जितेको यस दलले समानुपातिकतर्फ ३ लाख ५ हजार ६२ मत प्राप्त गरेको छ, जसका आधारमा उसले थप करिब ४ सिट पाउने अनुमान गरिएको छ।

त्यसैगरी, प्रत्यक्षतर्फ १ सिट जितेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समानुपातिकतर्फ ३ लाख ३० हजार ८२ मत प्राप्त गरेको छ। प्राप्त मतका आधारमा राप्रपाले पनि समानुपातिकबाट करिब ४ सिट प्राप्त गर्ने सम्भावना रहेको आयोगले जनाएको छ। सहप्रवक्ता जिसीका अनुसार प्रत्यक्षतर्फ १ करोड ९ लाख ७७ हजार ७११ मत खसेको थियो।

समानुपातिकतर्फ भने करिब १ करोड १० लाख मत खसेको अनुमान गरिएको भए पनि सबै विवरण केन्द्रीय प्रणालीमा प्रविष्ट भइसकेका छैनन्। हालसम्म १ करोड ७ लाख ८१ हजार ७१४ मत प्रणालीमा प्रविष्ट भइसकेको आयोगले जनाएको छ।