काठमाडौं। नेपाल राष्ट्र बैंकले साना तथा मझौला उद्योग (एसएमई) क्षेत्रमा प्रवाह हुने कर्जाको जोखिम भार घटाउने नीति लागू गरेको छ।
बैंक तथा वित्तीय संस्था नियमन विभागद्वारा जारी नयाँ परिपत्रअनुसार कृषि, सूचना प्रविधि तथा उत्पादनमूलक उद्योगसँग सम्बन्धित एसएमईहरूले ३ करोड रुपैयाँसम्म लिने कर्जामा अब ६० प्रतिशत मात्र जोखिम भार लागू हुनेछ।
यसअघि यस्तो छुट्टै व्यवस्था नहुँदा सबै किसिमका कर्जामा समान जोखिम भार लागू हुँदै आएको थियो। नयाँ नीतिले भने साना लगानीकर्ता र उत्पादनमुखी क्षेत्रलाई प्रोत्साहन गर्ने लक्ष्य राखेको देखिन्छ।
राष्ट्र बैंकले क्यापिटल एडिक्वेसी फ्रेमवर्क २०१५ र २००७ मा संशोधन गर्दै यो प्रावधान समावेश गरेको हो। तर, यस सुविधा लिनका लागि केही शर्तहरू तोकिएका छन्। कर्जा निक्षेप तथा कर्जा सुरक्षण कोषबाट प्रत्याभूत हुनुपर्ने, वा घरजग्गा धितोमा कम्तीमा २५ प्रतिशत मार्जिन सुरक्षित गरिएको हुनुपर्नेछ। साथै, कर्जा सम्बन्धित आयोजना बीमाअन्तर्गत समेटिएको हुनुपर्नेछ।
नयाँ व्यवस्थाअनुसार बैंकहरूले ३ करोड रुपैयाँसम्मका यस्ता कर्जालाई ‘अन्य सम्पत्ति’ शीर्षकमा ६० प्रतिशत जोखिम भारका साथ गणना गर्न पाउनेछन्। यसले बैंकहरूको प्राथमिक पुँजीमा पर्ने दबाब घटाउनुका साथै एसएमई क्षेत्रमा थप लगानी प्रवाह सहज बनाउने अपेक्षा गरिएको छ।
https://drive.google.com/file/d/1Fjdzza0hEP4enEOCrwsNWThf99zAalvs/view?usp=sharing







