काठमाडौं । वित्तिय सक्षमता तथा व्यक्तिको आर्थिक स्तर सुधारको लागि विश्वमा लगानीका धेरै अवधारणाहरू अघि सारिएका छन्। जसमध्ये सिस्टिमेटिक इन्भेस्टमेन्ट प्लान अर्थात् एसआइपी पनि एक हो । एसआइपी लगानी योजना विश्वसनीयता र स्थिरताको लगानी प्लेटफर्मको रूपमा परिचित लगानी योजना हो। एसआईपीलाई स्थिर वित्तीय भविष्य निर्माण गर्न खोज्ने व्यक्तिहरूको लागि उत्तम विकल्पका रूपमा लिन सकिन्छ ।
म्युचुअल फन्डमा थोरै थोरै गरेर लगानी गर्न सकिने यो लगानी योजनामा मासिक आम्दानी कम भएका व्यक्तिहरूले पनि सजिलै लगानी गर्न सक्छन् । पैसा बचत गर्न र लगानीकर्तालाई पनि कुनै प्रकारको बोझ नदिने यो योजनामा आफ्नो आम्दानी अनुसार लगानी गरेर राम्रो प्रतिफल प्राप्त गर्न सकिन्छ ।
के हो एसआइपी योजना भनेको ?
एसआइपी, साधारणयता एक लगानी योजना हो जहाँ कुनै पनि व्यक्तिले निश्चित रकम आफूलाई मन परेको म्युचुअल फन्ड योजनामा आवधिक रूपमा, साप्ताहिक, मासिक, त्रैमासिक, अर्धवार्षिक र वार्षिक रूपमा लगानी गर्न सक्छन् । एसआइपी योजनाले अनुशासित दृष्टिकोणबाट नियमित बचत गर्ने बानी सँगै वित्तीय बजारको सम्भावनालाई पनि सदुपयोग गर्छ । यो योजनामा तपाईँले आफ्नो सामथ्र्य अनुसार न्यूनतम लगानीबाट नै यात्रा सुरु गर्न सक्नुहुन्छ ।
एसआइपीले कम्पाउन्डिङ सिद्धान्तमा काम गर्छ । एसआईपीमा लगानी गर्नका लागि तपाइले यो सिद्धान्तका बारेमा बुझ्न जरुरी हुन्छ । जसले गर्दा तपाइलाई एसआइपी योजनामा लगानी गर्न सहज हुनसक्छ ।
कम्पाउन्डिङ शक्ति
पहाडको टुप्पोबाट तल खसिरहेको हिउँको डल्लोले हिउँ उठाउँदै गर्दा झन ठुलो हुँदै गएजस्तै एसआइपी लगानी योजनामा पनि तपाईँको पैसा कम्पाउन्डिङ मार्फत बढ्दै जाने गर्दछ । अर्थात तपाईँको लगानी पनि बढ्दै जाने गर्दछ । सजिलो भाषामा भन्नुपर्दा, मूल लगानी रकम र कमाएको प्रतिफल दुवैमा थप प्रतिफल प्राप्त गर्ने योजना नै एसआइपी लगानी योजना हो ।
उदाहरणका लागि भन्नुपर्दा, यदि तपाईँले कुनै एसआइपी लगानी योजनामा वार्षिक १ हजार रुपैयाँ कुनै एक एसआइपी योजनामा लगानी गर्दा तपाइले प्रत्येक वर्ष १५ प्रतिशत ब्याज पाउनुभएको हुनसक्छ । जसअनुसार पहिलो वर्षमा तपाईँले थप १५० रुपैयाँ कमाउनुहुनेछ ।
यस्तै यो रुपैयाँ तपाइले लगानीकै रूपमा राखिराख्नुभयो भने अर्को वर्ष तपाईँले आफ्नो लगानीमा १ हजार मात्र नभई पहिलो वर्ष कमाएको १५० को पनि ब्याज पाउनुहुन्छ । जसअनुसार अर्को ५ वर्षसम्ममा तपाईँले २ हजार ११.३६ रुपैयाँ पाउनुहुनेछ ।
एसआइपी योजनामा लगानी गर्नका लागि यो लगानी योजना सञ्चालन गरिरहेका क्यापिटलहरूको वेबसाइटमा गई आफूलाई अनुकूल पर्ने एसआइपी योजना खरिद गर्न सकिन्छ । नेपालमा सिद्धार्थ क्यापिटल , एनएमबि क्यापिटल , एनआईबिएलएस क्यापिटलस, नविल इन्भेष्टमेन्ट बैंकिङ लगायतले यो योजना सञ्चालनमा ल्याएका छन् ।
कम्पाउन्डिङको फाइदा लिन सकिने एसआइपी योजनामा लामो समयसम्म लगानी गरिरहँदा धेरै फाइदा लिन सकिन्छ । तर यो योजनामा कम्पनीले नाफा कमाउन नसकेमा पैसा डुब्ने सम्भावना पनि उत्तिकै हुने गर्दछ । यस्तै छोटो समयको लागि लगानी गर्दा पनि लगानीकर्तालाई घाटा हुन सक्छ।







