काठमाडौँ। इटहरीको समस्याग्रस्त अम्बे कोशी बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्ताले आफ्नो बचत रकम फिर्ता पाउन थालेका छन्।

कोशी प्रदेश सरकारले गठन गरेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले २० हजार रुपैयाँभन्दा कम बचत भएका सदस्यहरूको रकम पहिले फिर्ता गर्ने निर्णयअनुसार प्रक्रिया अघि बढाएको हो।

समितिका अध्यक्ष भरतबहादुर थापाका अनुसार हालसम्म २० हजार रुपैयाँभन्दा कम बचत भएका २८७ जना बचतकर्ताको कुल २८ लाख ५७ हजार रुपैयाँ सम्बन्धित व्यक्तिहरूको बैंक खातामा पठाइसकिएको छ।

समितिले जिम्मेवारी सम्हालेपछि सहकारीले लगानी गरेको ऋण उठाउने काम पनि अघि बढाएको छ। हालसम्म करिब १ करोड ८७ लाख रुपैयाँ ऋण असुल गरिएको बताइएको छ।

सम्बन्धित सहकारीको कुल असुल गर्नुपर्ने ऋण ४२ करोड ६० लाख रुपैयाँभन्दा बढी रहेको छ भने बचत फिर्ताका लागि करिब २४ करोड ८८ लाख रुपैयाँ बराबरको माग परेको समितिले जनाएको छ।

समिति सदस्य जीवन काफ्लेका अनुसार ऋण असुलीको काम निरन्तर भइरहेको छ र पहिलो चरणमा २० हजारसम्मको बचत फिर्ता गरिसकेपछि अब क्रमशः १ लाख रुपैयाँसम्मका साना बचतकर्तालाई रकम फिर्ता गर्ने तयारी छ।

आवश्यक परेमा ऋण असुलीले नपुगे सहकारी तथा सञ्चालकहरूको सम्पत्ति लिलाम गरेर पनि बचत फिर्ता गरिने उनले बताए।

प्रदेश सरकारले २०८१ साल पुस २३ गते अम्बे कोशी सहकारीलाई समस्याग्रस्त घोषणा गरेको थियो। त्यसपछि गठन भएको समितिले सहकारीको सम्पत्ति व्यवस्थापन, ऋण असुली तथा धितो लिलामीको प्रक्रिया अघि बढाइरहेको छ।

कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री इस्राइल मन्सुरीका अनुसार यो प्रदेश सरकारको पहलमा पहिलो पटक बचत फिर्ता सुरु गरिएको हो। उनले आगामी चरणमा २० हजारभन्दा माथि र क्रमशः १ लाख रुपैयाँसम्मको बचत फिर्ता गर्ने योजना रहेको जानकारी दिए।