काठमाडौं । सहकारीबाट कर्जा लिएर हालसम्म नतिरेका ऋणीलाई समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले तत्काल कर्जा भुक्तानी गर्न आग्रह गरेको छ ।

समितिले सूचना जारी गर्दै समस्याग्रस्त घोषित सहकारीका ऋणीलाई आफ्नो साँवा, ब्याज तथा हर्जाना समयमै तिर्न निर्देशन दिएको हो । सहकारी ऐन २०७४ को दफा १०४ अनुसार समस्याग्रस्त सहकारीको सम्पत्ति व्यवस्थापन र दायित्व मिलान गर्ने प्रक्रिया अघि बढाइएकाले कर्जा असुली आवश्यक रहेको समितिको भनाइ छ ।

त्यसैगरी, समितिले यस्ता सहकारीका सञ्चालक, ऋणी सदस्य, व्यवस्थापक तथा जमानी बस्ने व्यक्तिहरूलाई पनि कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ । कर्जा भुक्तानी नगर्ने वा सम्पर्कमा नआउने व्यक्तिको हकमा सार्वजनिक सेवा रोक्ने, नाम सार्वजनिक गर्ने, कालोसूचीमा राख्ने, सम्पत्ति लिलाम गर्ने तथा कानुनी कारबाहीसहित कैद र जरिवाना समेत हुन सक्ने चेतावनी दिइएको छ ।

समितिको मातहत हाल २० वटा समस्याग्रस्त सहकारी रहेका छन् । ती संस्थाबाट करिब ६२ हजार बचतकर्ताले झण्डै ४० अर्ब रुपैयाँ बचत फिर्ताको माग गर्दै समितिमा आवेदन दिएका छन् ।