काठमाडौं । निर्माण सामग्री र इन्धनको लगातार बढ्दो मूल्यवृद्धिले विकास आयोजनाहरू प्रभावित भएको भन्दै निर्माण व्यवसायीहरू आन्दोलित बनेका छन्। मूल्य समायोजनको मागसहित नेपाल निर्माण व्यवसायी महासङ्घले सडक विभाग परिसरमा धर्ना दिएको छ।
महासङ्घ र एसोसिएट सदस्य समन्वय समितिको अगुवाइमा बिहीबार गरिएको विरोध कार्यक्रममा व्यवसायीहरूले सडक विभागमै धर्ना बसेर सरकारको ध्यानाकर्षण गराएका हुन्।
व्यवसायीहरूको भनाइमा इन्धन, सिमेन्ट, स्टिल, बालुवा लगायतका निर्माण सामग्रीमा भएको मूल्यवृद्धिका कारण ठेक्का सम्झौताअनुसार काम अघि बढाउन कठिन भएको छ। यसले देशभरका विकास आयोजनाहरू प्रभावित बनेको उनीहरूको दाबी छ।
उनीहरूले सम्बन्धित निकायलाई ध्यानाकर्षण पत्र बुझाउँदै तत्काल मूल्य समायोजन वा स्पष्ट नीति ल्याउन माग गरेका छन्। महासङ्घले सरकारबाट बेवास्ता गरिएको आरोप समेत लगाएको छ।
व्यवसायीहरूले समस्या समाधानमा ढिलाइ भए धेरै आयोजना रोकिने अवस्था आउन सक्ने चेतावनी दिएका छन्। साथै, आवश्यक कदम नचालिए निर्माण कार्य ठप्प पार्नुपर्ने अवस्था सिर्जना हुन सक्ने उनीहरूको भनाइ छ।







