काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिनामा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता ४५ अर्ब रुपैयाँ नाघेको छ। उद्योग विभागका अनुसार साउनदेखि वैशाखसम्म ७२८ वटा परियोजनामार्फत कुल ४५ अर्ब ३२ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको हो।

यसअघि चैत मसान्तसम्म ६१५ परियोजनाबाट ४१ अर्ब ७९ करोड रुपैयाँ प्रतिबद्धता आएको थियो। वैशाख महिनामा मात्र ११३ परियोजनाबाट थप ३ अर्ब ५२ करोड रुपैयाँ बराबरको लगानी प्रस्ताव आएको देखिएको छ।

क्षेत्रगत रूपमा हेर्दा सबैभन्दा बढी लगानी कृषिमूलक उद्योगमा केन्द्रित भएको छ, जहाँ १६ परियोजनामा २२ अर्बभन्दा बढी प्रतिबद्धता आएको छ। पर्यटन क्षेत्रमा १८९ परियोजनामार्फत १२ अर्ब ५४ करोड रुपैयाँ लगानी प्रस्ताव आएको छ भने सेवामूलक क्षेत्रमा ५५ परियोजनाका लागि ४ अर्ब २३ करोड रुपैयाँ प्रतिबद्धता आएको छ।

यसैगरी, उत्पादनमूलक क्षेत्रमा ४२ परियोजनाबाट २ अर्ब ७० करोड रुपैयाँ, पूर्वाधार क्षेत्रमा एक परियोजनाबाट १ अर्ब ६५ करोड रुपैयाँ लगानी प्रस्ताव आएको छ। सूचना प्रविधि क्षेत्रका ४२१ परियोजनामा १ अर्ब ७४ करोड रुपैयाँ प्रतिबद्धता आएको छ भने ऊर्जा क्षेत्रमा दुई परियोजनामा २३ करोड रुपैयाँ र खनिज क्षेत्रमा दुई परियोजनामा ११ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको छ।

यद्यपि, प्रतिबद्धता अनुसार वास्तविक लगानी भने अपेक्षाकृत कम मात्र भित्रिएको देखिन्छ। नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको नौ महिनामा १४ अर्ब ५५ करोड रुपैयाँ मात्र प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ८ अर्ब ९४ करोड रुपैयाँभन्दा केही बढी हो।

त्यस्तै, यस अवधिमा पुँजीगत ट्रान्सफरको अवस्था भने कमजोर देखिएको छ। चालु आवको नौ महिनामा खुद पुँजीगत ट्रान्सफर १४ करोड ५० लाख रुपैयाँमा सीमित भएको छ, जबकि अघिल्लो वर्ष सोही अवधिमा ७ अर्ब ७१ करोड रुपैयाँ थियो। यसले नेपालबाट पुँजी बाहिरिने दर बढेको संकेत गरेको छ।