काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो ६ महिनामा २२ अर्ब ३३ करोड रुपैयाँ बराबर प्रत्यक्ष वैदेशिक लगानीको प्रतिबद्धता आएको छ ।
उद्योग विभागको तथ्यांकअनुसार पुस मसान्तसम्म कुल २ सय २६ उद्योग–प्रतिष्ठान स्थापनाको प्रतिबद्धता प्राप्त भएको छ । जसमा कुल २२ अर्ब ३३ करोड ६५ लाख १७ हजार रुपैयाँबराबर वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको हो ।
पुसमा मात्र २७ प्रस्ताव प्राप्त भएको विभागले जनाएको छ । यस अवधिमा ‘सेयर पर्चेज एग्रिमेन्ट’ मा २८ प्रस्ताव आएका छन् । जसमा ४ अर्ब १ कराड रुपैयाँ बराबर वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको विभागले जनाएको छ । यस अवधिमा प्रविधि हस्तान्तरणका ३१ प्रस्ताव प्राप्त भएका छन् । पर्यटनमा १ सय ३ वटा प्रस्ताव आएका छन् ।यो कुल प्रस्तावको ४५ प्रतिशत हो ।
त्यस्तै ,सेवा क्षेत्रमा ८३ प्रस्ताव आएको छ । यो ३७ प्रतिशत हो । निर्माणमा २३ प्रस्ताव आएको छ । यो १० प्रतिशत हो । सूचना–प्रविधिमा ७ प्रस्ताव आएका छन् । यो ३ प्रतिशत हो । कृषिमा ४ वटा र पूर्वाधारमा ४ वटा प्रस्ताव आएको विभागले बताएको छ ।






