काठमाडौं । चालु आर्थिक वर्षको पहिलो छ महिनामा नेपालमा ३९ अर्ब २३ करोड रुपैयाँभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता आएको छ। यस अवधिमा वैदेशिक लगानीको मुख्य आकर्षण साना उद्योगतर्फ केन्द्रित देखिएको उद्योग विभागले जनाएको छ।
उद्योग विभागका अनुसार साउनदेखि पुस मसान्तसम्म ४७५ वटा उद्योगका लागि कुल ३९ अर्ब २३ करोड ६१ लाख ४४ हजार रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता स्वीकृत गरिएको छ। स्वीकृत उद्योगमध्ये ४६० वटा साना, ८ वटा मध्यम र ७ वटा ठूला उद्योग रहेका छन्। यी उद्योगमार्फत करिब २० हजार १२२ रोजगारी सिर्जना हुने अनुमान विभागले गरेको छ।
विभागले सार्वजनिक गरेको मासिक प्रतिवेदनअनुसार स्वचालित मार्ग (अटोमेटिक रुट) बाट ३१४ उद्योगका लागि २ अर्ब ८० करोड ९९ लाख रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको छ। यस्तै, स्वीकृति मार्ग (अप्रुभल रुट) बाट १६१ उद्योगमा ३६ अर्ब ४२ करोड ६१ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता स्वीकृत भएको छ। रकमका आधारमा अप्रुभल रुटमार्फत आएको लगानी अत्यधिक देखिएको छ।
गत आर्थिक वर्षको सोही अवधिमा ३५४ उद्योगका लागि २५ अर्ब ७८ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको थियो। त्यसको तुलनामा चालु आर्थिक वर्षको अर्धवार्षिक अवधिमा उद्योग संख्या र लगानी रकम दुवैमा उल्लेख्य वृद्धि देखिएको छ। चालु आवको पहिलो छ महिनामा शेयर पर्चेज एग्रीमेन्ट (एसपीए) र शेयर सब्सक्रिप्सन एग्रीमेन्ट (एसएसए) मार्फत ३२ उद्योगका लागि ३ अर्ब ९८ करोड ६६ लाख रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ। यसै अवधिमा ३१ वटा उद्योगका लागि टेक्नोलोजी ट्रान्सफर एग्रीमेन्ट (टीटीए) पनि स्वीकृत गरिएको छ।
क्षेत्रगत रूपमा हेर्दा उद्योग संख्या अनुसार सूचना प्रविधिमूलक क्षेत्र अगाडि देखिएको छ। यस क्षेत्रमा २५७ उद्योगका लागि वैदेशिक लगानी प्रतिबद्धता आएको छ। तर लगानी रकमका आधारमा कृषिमूलक क्षेत्र शीर्ष स्थानमा रहेको छ। विभागका अनुसार कृषिमूलक १३ उद्योगमा २१ अर्ब ८८ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता स्वीकृत भएको छ।
यसैगरी उत्पादनमूलक क्षेत्रका २७ उद्योगमा २ अर्ब ३ करोड रुपैयाँ, पर्यटनमूलक क्षेत्रका १४५ उद्योगमा १० अर्ब ५४ करोड रुपैयाँ र सेवामूलक क्षेत्रका ३१ उद्योगमा ३ अर्ब ४६ करोड रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ।पुस महिनामा मात्रै ३६ वटा साना उद्योगमा ५९ करोड ९५ लाख रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ । हालसम्म विभागले कुल ७ हजार ७१३ वटा उद्योगमा ६ खर्ब ७५ अर्ब ४३ करोड रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता स्वीकृत गरिसकेको जनाएको छ।






