सुर्खेत । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन्। आइतबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकार सही दिशामा अघि बढ्न नसकेको टिप्पणी गरे।

उनका अनुसार सुकुमबासी समस्या अझै समाधान हुन नसकेको, ट्रेड युनियन र विद्यार्थीसँग सम्बन्धित मुद्दाहरू पनि जस्ताको तस्तै रहेको बताए। साथै, संविधान संशोधनका लागि सरकारले ल्याउन लागेको बहस पत्र पनि पर्याप्त पारदर्शी नदेखिएको उनको भनाइ छ।

प्रचण्डले सरकारले संसद् छलेर अध्यादेशमार्फत काम अघि बढाउन खोजेको भन्दै आलोचना गरे। उनले पर्याप्त बहुमत हुँदाहुँदै नियमित विधायी प्रक्रियाबाट विधेयक ल्याउन सकिने अवस्थामा पनि अध्यादेश प्रयोग गर्नु अनुचित भएको उल्लेख गरे।

उनले सुरुवातमा केही कदम सकारात्मक देखिए पनि पछिल्ला गतिविधिहरूले सरकारलाई समर्थन गर्न कठिन बनाएको बताए। बरु जनस्तरबाट विरोध र प्रतिवाद आवश्यक देखिएको उनको भनाइ छ।

सरकारलाई सचेत गराउँदै उनले लोकतन्त्रको सुदृढीकरण र संविधानको संरक्षणका लागि राम्रो काम भए सहयोग गर्ने तर बेवास्ता गरिए कडा विरोधमा उत्रिने चेतावनी समेत दिए।