काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वर्तमान सरकारको मुख्य ध्यान सुशासन प्रवर्द्धन, आर्थिक संरचनागत सुधार र पूर्वाधार विकासमा केन्द्रित रहेको बताएका छन्।

सोमबार काठमाडौंमा आयोजित नेपाल बिजनेस समिटलाई सम्बोधन गर्दै उनले जनताले दिएको जनादेशअनुसार सरकारले आर्थिक सुधारलाई प्राथमिकतामा राखेर काम अघि बढाइरहेको स्पष्ट पारे।

अर्थमन्त्री वाग्लेले विगत लामो समयदेखि देखिँदै आएको कुशासनका कारण अर्थतन्त्र र समाजले ठूलो क्षति व्यहोर्नुपरेको उल्लेख गर्दै अब सुशासनको लाभ जनस्तरसम्म पुर्‍याउने लक्ष्य सरकारको रहेको बताए।

उनका अनुसार आगामी बजेट सुधारमुखी हुने र संस्थागत तथा कानुनी सुधारलाई प्राथमिकतामा राखिनेछ। सूचना प्रविधि, डिजिटाइजेसन र ई–गभर्नेन्सको विस्तारमार्फत सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाइने उनले जानकारी दिए।

वाग्लेले रेमिट्यान्समा अत्यधिक निर्भर अर्थतन्त्रलाई क्रमशः घटाउँदै स्वच्छ ऊर्जा, पर्यटन, डिजिटल अर्थतन्त्र, हरित उत्पादन र उच्च मूल्य कृषि उत्पादनलाई दिगो विकासको आधार बनाइने बताए।

त्यसैगरी पूर्वाधार विकासमा एकीकृत दृष्टिकोण अपनाइ सडक, ऊर्जा, इन्टरनेट र उड्डयन पूर्वाधारलाई सुदृढ बनाउने योजना रहेको उनले उल्लेख गरे।

सरकारले सामाजिक क्षेत्रमा स्वास्थ्य, शिक्षा, पोषण र सामाजिक सुरक्षालाई प्राथमिकतामा राखेको तथा गैरआवासीय नेपाली समुदायलाई लगानी र विकाससँग जोड्ने नीति अघि बढाइने पनि अर्थमन्त्रीले बताए।

उनले पूर्वाधार विकासमा निजी क्षेत्रको सहभागिता अपरिहार्य रहेको भन्दै सरकारी लगानी मात्र पर्याप्त नहुने स्पष्ट पारे।