काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले उत्पादनमुखी क्षेत्रमा आन्तरिक र वैदेशिक ऋणलाई प्रभावकारी रूपमा परिचालन गर्न सके सकारात्मक आर्थिक वृद्धि हासिल गर्न सकिने बताएका छन् ।

राष्ट्रिय सभाअन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट तयारीबारे छलफल गर्दै मन्त्री वाग्लेले उद्यम, निजी क्षेत्र र लगानीमैत्री वातावरण निर्माणमा सरकार केन्द्रित रहेको उल्लेख गरेका हुन् ।

उनले लैङ्गिक उत्तरदायी बजेटमार्फत सार्वजनिक खर्चलाई समावेशी बनाउने र लैङ्गिक संवेदनशीलता सुनिश्चित गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

सरकारले सिँचाइ, ट्रान्समिसन लाइन तथा खानेपानीजस्ता निरन्तर सञ्चालनमा रहेका आयोजनालाई प्राथमिकतामा राखेको बताउँदै ६० प्रतिशतभन्दा बढी प्रगति भएका योजनाहरूलाई पर्याप्त बजेट छुट्याएर चालु आर्थिक वर्षमै सम्पन्न गर्ने लक्ष्य राखिएको जानकारी दिए ।

बैठकमा सहभागी सांसदहरूले शिक्षा, अनुसन्धान र नवप्रवर्तन क्षेत्रमा लगानी बढाउनुपर्ने, सार्वजनिक सेवाको गुणस्तर सुधार गर्नुपर्ने तथा स्वास्थ्य सेवा र बीमा प्रणालीलाई थप मजबुत बनाउनुपर्ने सुझाव दिएका थिए ।

त्यस्तै, राष्ट्रिय गौरवका आयोजनाहरू समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिँदै अनुदानमा आधारित अर्थतन्त्रबाट बाहिर निस्केर लगानीमैत्री वातावरण निर्माण गर्नुपर्ने आवश्यकता औँल्याइएको छ।

यसैबीच अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्यायले पूँजीगत खर्चको आवश्यकता हेरेर विभिन्न मन्त्रालयमा बजेट विनियोजन गरिएको जानकारी दिँदै स्रोत सुनिश्चित गर्दै ऋणलाई उत्पादनशील क्षेत्रमा प्रयोग गर्ने प्रतिबद्धता जनाए ।