काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई तत्काल पक्राउ नगर्न अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले उनीहरूविरुद्ध पक्राउ प्रक्रिया अघि नबढाउन आदेश जारी गरेको हो ।

अदालतमा दायर रिटमा जिल्ला अदालत काठमाडौंले जारी गरेको पक्राउ पुर्जीको वैधानिकतामाथि प्रश्न उठाइएको थियो । निवेदक पक्षले विशेष अदालतको क्षेत्राधिकारमा पर्ने विषय जिल्ला अदालतबाट अघि बढाइएको दाबी गरेको छ ।

सोही आधारमा सर्वोच्चले हाललाई उक्त पक्राउ पुर्जी कार्यान्वयन नगर्न र कुनै पनि पक्राउ प्रक्रिया अगाडि नबढाउन आदेश दिएको बताइएको छ ।

यसअघि सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धानसँग जोडिएको मुद्दा विशेष अदालतमा जाने व्यवस्था रहेको अध्यादेश उल्लेख गर्दै निवेदनमा प्रक्रिया गलत भएको तर्क गरिएको थियो ।