काठमाडौँ । सानिगाड हाइड्रो लिमिटेडले सार्वजनिक निष्कासन (आईपीओ) को मिति परिमार्जन गरेको छ। यसअघि जेठ १४ गतेदेखि आईपीओ जारी गर्ने योजना रहेकोमा सो दिन बकर ईदको सार्वजनिक बिदा परेकाले मिति सारिएको कम्पनीले जनाएको छ।

अब कम्पनीले जेठ १८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ खुला गर्नेछ। प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४६ लाख ७४ हजार कित्ता सेयर निष्कासन गरिनेछ।

नेपाल धितोपत्र बोर्डबाट कम्पनीले कुल ८५ लाख ५० हजार कित्ता आईपीओ जारी गर्ने अनुमति पाएको थियो। यसमध्ये पहिलो चरणमा २८ लाख ५० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दा र ५ लाख ७० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको थियो, जसको बाँडफाँड भइसकेको छ।

दोस्रो चरणअन्तर्गत खुला गरिने आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एनपी डबल बी माइनस’ रेटिङ दिएको छ, जसले कम्पनीको दायित्व वहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ।

आईपीओ छिटोमा जेठ २१ गते र ढिलोमा असार १ गतेसम्म खुला रहनेछ। लगानीकर्ताले स्वीकृत आस्बा सदस्य बैंक तथा वित्तीय संस्था वा मेरो सेयर प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। आईपीओको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।