काठमाडौं । परराष्ट्र मन्त्रालयले विदेशमा रहेका नेपालीलाई लक्षित गर्दै ‘मोफा मित्र’ नामक मोबाइल एप सार्वजनिक गरेको छ। उक्त एप कन्सुलर सेवा विभागमार्फत सञ्चालनमा ल्याइएको हो।

एक कार्यक्रमका बीच परराष्ट्रमन्त्री शिशिर खनालले एपको औपचारिक शुभारम्भ गरेका हुन्। एप डाउनलोड गरी विदेशमा रहेका नेपाली तथा उनीहरूका परिवारजनले आफ्ना गुनासा, समस्या तथा आवश्यक सेवासम्बन्धी जानकारी सजिलै राख्न सक्नेछन्।

विभागकी महानिर्देशक दुरपदा सापकोटा का अनुसार यस एपमार्फत उजुरी, उद्धार र अन्य कन्सुलर सेवा सम्बन्धी कार्यलाई छिटो र सरल बनाउन सहयोग पुग्नेछ। पहिलेको अनलाइन प्रणालीमा उजुरी विभाग हुँदै सम्बन्धित नियोगमा पठाइने भए पनि अब एपबाट सिधै नियोगमा सम्पर्क गर्न सकिने व्यवस्था गरिएको छ।

उद्घाटन कार्यक्रममा मन्त्री खनालले प्रविधिको प्रयोगमार्फत सेवा पहुँचलाई सहज बनाउने उद्देश्यले एप ल्याइएको बताए। विदेशमा समस्या परेका नेपालीलाई छिटो सहयोग पुर्‍याउने अपेक्षा गरिएको उनको भनाइ छ।

विभागले प्रविधिलाई उपयोग गरी सेवाहरू प्रत्येक नेपालीको पहुँचमा पुर्‍याउने लक्ष्यसहित एप सञ्चालनमा ल्याएको जनाएको छ।