काठमाडौं । मुलुकमा आगामी आर्थिक वर्षको बजेट तयारी भइरहेका बेला अर्थतन्त्रका विविध चुनौतीबारे चासो बढ्दै गएको छ । एकातिर मध्यपूर्वमा देखिएको तनावले विश्व अर्थतन्त्रमा प्रभाव पारिरहेको छ भने त्यसको असर नेपालमा पनि देखिन थालेको छ ।
देशभित्र महँगी निरन्तर बढ्दै जाँदा आमनागरिकको दैनिक जीवन थप महँगिँदै गएको छ । उता, बेरोजगारी समस्या पनि यथावत् रहँदा आर्थिक दबाब झन् गहिरिँदै गएको छ । बैंकिङ्ग क्षेत्र पनि चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको छ, जहाँ अधिक तरलता र उच्च निष्क्रिय सम्पत्तिको समस्या देखिएको छ ।
यसै सन्दर्भमा पूर्वबैंकर तथा अर्थविद् भुवन दाहालले आगामी बजेटलाई अर्थतन्त्र पुनर्जीवन दिने अवसरका रूपमा उपयोग गर्नुपर्ने बताएका छन् । उनका अनुसार सरकारको बाचापत्रमा उल्लेख गरिएका कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन भएमा अर्थतन्त्र चलायमान हुने र समग्र आर्थिक गतिविधि बढ्नेछ ।
दाहालले बजेटमार्फत रोजगारी सिर्जना, बैंकिङ्ग क्षेत्र सुधार र आर्थिक गतिविधि विस्तारलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव दिएका छन् । उनले नीतिगत प्रतिबद्धता मात्र होइन, त्यसको प्रभावकारी कार्यान्वयन नै अहिलेको मुख्य आवश्यकता भएको पनि जोड दिएका छन् ।
बैंकिङ्ग क्षेत्रमा अधिक तरलता र निष्क्रिय सम्पत्तिको चुनौती
दाहालका अनुसार हाल बैंकिङ्ग क्षेत्रमा अधिक तरलता देखिएको छ भने निष्क्रिय सम्पत्ति (एनपीए) पनि उच्च अवस्थामा छ। उनले आर्थिक गतिविधि बढेपछि यस्ता समस्या क्रमशः समाधान हुने बताए।
उनका अनुसार बैंकहरूले लगानी गरेको सम्पत्ति, विशेषगरी जग्गा, बजार चलायमान भए बिक्री हुन सक्ने र त्यसले जोखिम घटाउन सहयोग गर्नेछ।
आर्थिक चलायमानता नै मुख्य समाधान
उनले अर्थतन्त्रलाई चलायमान बनाउन लगानी वृद्धि अनिवार्य रहेको बताए। “अर्थतन्त्र चलायमान भयो भने धेरै समस्या आफैँ समाधान हुन्छन्,” उनले भने।
सरकारले आफ्नै उद्योग सञ्चालन गर्नु भन्दा निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्नेमा उनले जोड दिए। नियामक र सहजीकरण गर्ने भूमिकामा सरकार सक्रिय हुनुपर्ने उनको भनाइ छ।
युवा रोजगारीका लागि लगानी विस्तार आवश्यक
दाहालले युवालाई स्वदेशमै रोजगारी दिन घरेलु तथा विदेशी लगानी दुवै बढाउनुपर्ने बताए। उनका अनुसार निजी क्षेत्र नै रोजगारी सिर्जनाको प्रमुख आधार हो।
भारत र चीनबाट पर्यटक आकर्षित गर्न सके अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने र वैदेशिक रोजगारीमा जाने प्रवृत्ति घटाउन मद्दत पुग्ने उनले उल्लेख गरे।
प्रविधि र उच्च आम्दानी क्षेत्रतर्फ ध्यान दिनुपर्ने सुझाव
उनले डेटा सेन्टर, क्लाउड कम्प्युटिङ, डेटा माइनिङजस्ता उच्च आम्दानी दिने क्षेत्रमा लगानी गर्न सुझाव दिए। यस्ता क्षेत्रमा अवसर सिर्जना गर्न सके विदेशिएका नेपालीलाई समेत स्वदेश फर्काउन सकिने उनको भनाइ छ।
सार्वजनिक संस्थान र विदेशी लगानीको भूमिका
नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकजस्ता संस्थालाई सुदृढ बनाउन विदेशी सहयोग वा लगानी उपयोग गर्नुपर्ने उनले बताए। साथै, सडक, कृषि, पर्यटनलगायत क्षेत्रमा विदेशी लगानी भित्र्याएर अन्तर्राष्ट्रियस्तरको सेवा दिन सकिने उनको धारणा छ।
बैंकिङ्ग सुधारका लागि कानुनी परिमार्जन आवश्यक
दाहालले बैंकिङ्ग क्षेत्र सुधारका लागि कानुनी संरचनामा सुधार गर्नुपर्ने बताए। बैंक बोर्डको संरचना अझ पेशागत बनाउन र ऐन संशोधन गर्नुपर्ने आवश्यकता औंल्याए।
साथै, बैंकिङ्ग कसुर सम्बन्धी कानुनको दुरुपयोग रोक्नुपर्ने उल्लेख गर्दै उनले नियतवश गल्ती गर्ने र असल नियतले काम गर्नेबीच स्पष्ट भेद गर्नुपर्ने बताए।
अर्थ मन्त्रालय र राष्ट्र बैंकबीच समन्वय आवश्यक
उनले बैंकिङ्ग सुधारका लागि अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकबीच समन्वय अपरिहार्य रहेको बताए। आर्थिक गतिविधि बढे निष्क्रिय कर्जा र अधिक तरलता दुवै समस्या क्रमशः घट्दै जाने उनको निष्कर्ष छ।






