काठमाडौं । सामाजिक सञ्जाल टिकटकमार्फत चिनिएकी तुलसा अधिकारीलाई प्रहरीले थाइल्यान्डबाट पक्राउ गरी नेपाल ल्याएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार उनलाई शनिबार राति काठमाडौं ल्याइएको हो ।
प्रहरीका अनुसार अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ तथा ठगीसम्बन्धी मुद्दा ललितपुर जिल्ला अदालतमा दर्ता भइसकेको छ । उनलाई थुनछेक प्रयोजनका लागि अदालतमा पेश गरिने तयारी गरिएको छ ।
इन्टरपोलको रेड नोटिसका आधारमा पक्राउ परेकी अधिकारीविरुद्ध २०८२ चैतमा ६ करोड ५२ लाख २९ हजार रुपैयाँ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको थियो ।
अभियोगपत्रमा तुलसा कलेक्सन प्रालिकी सञ्चालक अधिकारीसहित १० जनामाथि मुद्दा चलाइएको उल्लेख छ । एक व्यवसायीलाई बलात्कार मुद्दामा फसाउने धम्की दिँदै नगद तथा जिन्सी गरी करिब ४ करोड ५० लाख रुपैयाँ बराबर रकम असुलेको आरोप छ ।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।






