काठमाडाैं । आन्तरिक राजस्व विभागले वार्षिक १ करोड रुपैयाँसम्मको कारोबार गर्नेहरुलाई करअवधिमा सहुलियत प्रदान गरेको छ । विभागले आज एक सूचना प्रकाशित गरी यसबारे जानकारी गराएकाे हाे ।
वार्षिक १ करोड रुपैयाँसम्मको कारोबार भएका करदाताहरुको करअवधि २०८० साउनदेखि मासिकबाट चौमासिक कायम गरिएको विभागले जनाएकाे छ ।
मासिक रुपमा विवरण दाखिला गर्दै आएका करदताले अब साउनदेखि हरेक ४ महिना अर्थात साउन, भदौ, असोज र कात्तिकको विवरण मंसिर २५ गतेसम्म तथा मंसिर पुस, माघ र फागुनको विवरण चैत २५ गतेसम्म पेस गर्नुपर्नेछ ।
त्यस्तै चैत, वैशाख, जेठ र असारको विवरण साउन २५ गतेसम्म पेस गर्ने सुविधा विभागले प्रदान गरेको छ ।
साथै वार्षिक १ करोड रुपैयाँसम्मको कारोबार गर्ने करदाताले मासिक कर विवरण दाखिला गर्न चाहेमा सम्बन्धित आन्तरिक राजस्व कार्यालय/करदता सेवा कार्यालयमा १५ दिनभित्रै जानकारी गराउनु पर्ने छ ।








