हेटाैँडा । हेटौंडामा सडक विस्तारका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को ध्यानाकर्षण गराइएको छ ।मकवानपुरका सांसदसहितको टोलीले हेटौंडामा सडक विस्तारका विषयमा प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएको हाे ।
आज (मंगलबार) मकवानपुरका संघीय, प्रदेश सांसद, राष्ट्रिय सभाका सदस्य, पूर्व सांसदहरु सहितको टोलीले हेटौंडाको मुख्य बजार क्षेत्रमा सडक विस्तार गर्दा यहाँका घरधनी र व्यावसायीहरुलाई उचित क्षतिपूर्ति र मुआब्जा दिएर मात्र सडक विस्तार गर्नका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।
हेटौंडाको रातोमाटेदेखि रापतीपुल सम्मको राजमार्ग विस्तार गर्दा यहाँ पर्ने घरधनीहरुलाई मुआब्जा दिनुपर्ने उनीहरुले माग राखेका हुन् ।
प्रधानमन्त्रीलाई भेट गरेर सांसदहरुको टोलीले पहिले यहाँका घरहरुको लगत संकलन गर्नुपर्ने र त्यसपछि मुआब्जा दिएर भत्काउनका लागि ध्यानाकर्षण गराएका हुन् ।
संघीय संसदमा मकवानपुरबाट प्रतिनिधित्व गर्ने चार सांसदहरू महेश कुमार बर्तौला, दीपकबहादुर सिंह, विन्दवासीनी कंशकार, राष्ट्रिय सभाका सदस्य रामचन्द्र राई, पूर्व सांसदहरु कृष्णप्रसाद दाहाल, अनन्त पौडेल, प्रदेश सभाका सदस्य लक्ष्मी श्रेष्ठ, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद गुप्ता अग्रवाल लगायतको टोलीले आज विहान प्रधानमन्त्रीसँग भेट गरेको हो ।






