काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूका लागि साइबर सम्बन्धी निर्देशिका जारी गरेको छ । राष्ट्र बैंकले भुक्तानी सेवा सञ्चालनको अनुमति पाएका संस्था, बैंक तथा वित्तीय संस्थाहरूका लागि साइबर सम्बन्धी निर्देशिका जारी गरेको हो ।
राष्ट्र बैंकका अनुसार कुनै पनि संस्थाले डिजिटल भुक्तानी सेवा तथा समग्र सेवालाई जोखिम मुक्त गराउनका लागि संस्थागत व्यवस्थादेखि सीप विकासका काम गर्नुपर्ने छ । संस्थाको जोखिमको अन्तिम उत्तरदायी सञ्चालक समिति हुनुपर्ने राष्ट्र बैंकले जनाएकाे छ ।
संस्थाको सञ्चालक समितिमा विभिन्न विषयका विज्ञहरू हुनुपर्ने सैद्धान्तिक अवधारणाअनुसार अबदेखि साइबर सुरक्षा विज्ञलाई पनि समावेश गर्नुपर्ने निर्देशिकामा उल्लेख गरिएको छ । संस्थाको साइबर सुरक्षा जोखिमको पहिचान र त्यसको समाधानका लागि लिनुपर्ने नीतिगत व्यवस्थाका लागि कम्तिमा एक जना साइबर सुरक्षा विज्ञ हुनुपर्ने राष्ट्र बैंकले जनाएकाे छ ।
गाइडलाइनमा संस्थाहरूले साइबर सुरक्षाका लागि अपनाउनुपर्ने सामान्य आचारसंहितादेखि समग्र संस्थागत व्यवस्थाका बारेमा उल्लेख गरिएको छ ।
पछिल्लो समय डिजिटल वित्तीय कारोबारमा वृद्धि भइरहेको छ । साथै सूचनाको संवेदनशीलतालाई ख्याल नगर्दा जोखिम बढ्दै गएको छ । यही जोखिमलाई ध्यानमा राख्दै राष्ट्र बैंकले तयार पारेको यो गाइडलाइनमा प्रत्येक कर्मचारीलाई सामान्य साइबर सुरक्षाको तालिम तथा सीप दिने व्यवस्था गर्नुपर्नेदेखि आन्तरिक कार्ययोजना हुनुपर्ने जनाएकाे छ ।
राष्ट्र बैंकका अनुसार कुनै पनि संस्थाले साइबर जोखिमको पहिचानदेखि लिएर सुरक्षाका लागि गर्नुपर्ने कामका बारेमा कार्ययोजना बनाउनुपर्ने र त्यसको कार्यान्वयन हुनुपर्ने छ । यसका लागि निश्चित उत्तरदायी अधिकार तोक्नेदेखि लिएर डिजिटल साक्षरताका लागि काम गर्नुपर्ने छ ।






