काठमाडौं । नेपाल शिक्षक महासंघको आह्वनामा आन्दोलनमा होमिएका शिक्षकहरुले प्रदर्शन छाडेका छैनन् । सरकारले शिक्षक महासंघसँग गरेको ६ बुँदे सहमतिप्रति असन्तुष्टि जनाउँदै राहत शिक्षकले आन्दोलन चर्काएका हुन् । प्रक्रिया पुर्‍याएर स्थायी गर्नुपर्नेलगायत माग राख्दै राहत शिक्षकहरूले आइतबार माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् ।

महासंघ र सरकारबीचको छ बुँदे सहमतिमा असन्तुष्टि जनाउँदै राहत शिक्षक, पेन्सन बञ्चित शिक्षक, बाल विकास सहयोगी शिक्षक लगायत आन्दोलनमा रहेका छन् ।

सरकार र महासंघले आफूहरुलाई धोका दिएको उनीहरुको निश्कर्ष छ । आफूहरुको माग पूरा नभएसम्म सडक नछाड्ने उनीहरुको अडान रहेको छ ।

राहत शिक्षकहरुले आन्तरिक प्रतिस्पर्धाबाट स्थायी हुन पाउनुपर्ने, कुनै पनि बहानामा सरकारले राहत शिक्षकहरुलाई विस्थापित गराउन नहुने अडान लिएका छन् ।

त्यस्तै, पेन्सन बञ्चित शिक्षकहरु ऐन जारी नहुँदाको समयसम्म नियुक्ति पाएका शिक्षकहरुले पेन्सन सुविधा पाउनुपर्ने माग लिएर आन्दोलनमा छन् ।

उनीहरुले आफूहरुको माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।

शिक्षक आन्दोलनका कारण काठमाडौंको माइतीघर–बानेश्वर क्षेत्रको सडकमा बुधबारदेखि सवारी आवागमन प्रभावित बनेको छ । आइतबार भने सवारी आवागमन पूरै अवरुद्ध भएको छैन ।