काठमाडौं। नेपाल शिक्षक महासंघको माघ १६ र १७ गते बसेको तेस्रो पूर्ण राष्ट्रिय बैठकले आन्दोलनको घोषणा गरेको छ।
महासंघको बैठकपछि आयोजित पत्रकार सम्मेलनमार्फत पहिलो चरणको आन्दोलनबारे जानकारी दिइएको छ। आन्दोलनका कार्यक्रम अन्तर्गत माघ २० गते सबै शिक्षक कर्मचारीले फेसबुक वालमा आयतकार रातो स्टिकर प्रयोग गरी ‘२०८१ को हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा ऐन जारी गरियोस्’ लेख्नेभएका छन् ।
त्यस्तै माघ २५ गते दिउँसो १ बजे सबै पालिकामा ध्यानाकर्षण तथा जानकारी पत्र बुझाउने कार्यक्रम तय गरिएको छ। पत्र बुझाउन कम्तीमा १५ जनाको प्रतिनिधिमण्डल लैजाने तय भएको छ ।
साथै, माघ २५ गते नै स्थानीय स्तरमा आन्दोलन परिचालन समिति गठन गर्ने भएको छ । माघ २९ गते हरेक विद्यालयमा विद्यार्थी, अभिभावक तथा विद्यालय व्यवस्थापन समितिबिच अन्तरक्रिया कार्यक्रम गर्ने र शिक्षक–कर्मचारीका माग मुद्दा तथा आन्दोलनको आवश्यकताबारे सुसूचित गराउने कार्यक्रम तय भएको छ।
माघ ३० गते बुधबार दिउँसो पालिका कार्यालयमा भेला भई ‘हाम्रा माग सम्बोधन हुने गरी यो हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा ऐन जारी गरियोस्’ भन्ने नारा सहित हातमा कालो पट्टी बाँधी खबरदारी जुलुस प्रदर्शन गरिने भएको छ ।
त्यस्तै जिल्ला स्तरका कार्यक्रम अन्तर्गत माघ २६ गते हरेक जिल्लामा आन्दोलन परिचालन समिति गठन गरिनेछ । फागुन २ गते देशका ७७ वटै जिल्लाको शिक्षा विकास तथा समन्वय एकाइमा ध्यानाकर्षण तथा जानकारी पत्र बुझाइने छ ।
त्यस्तै प्रदेश तह अन्तर्गत फागुन ७ गते प्रदेश स्तरको आन्दोलन परिचालन समिति गठन गरिनेछ । फागुन ९ गते देशका ७ वटै प्रदेशका मुख्यमन्त्रीरसामाजिक विकासमन्त्रीसमक्ष ध्यानाकर्षण तथा जानकारी पत्र बुझाउने कार्यक्रम तय भएको छ ।
सबै राजनीतिक पार्टीका संसदीय दलका प्रमुख सचेतकलाई भेटेर आन्दोलनबारे जानकारी गराउने कार्यक्रम रहेको छ । त्यस्तै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति, शिक्षामन्त्रीलाई समेत आन्दोलनबारे जानकारी पत्र बुझाउने कार्यक्रम छ ।
प्रधानमन्त्रीलाई समेत आन्दोलनबारे ध्यानाकर्षण तथा जानकारी पत्र बुझाउने कार्यक्रम महासंघले तय गरेको छ । अभिभावक महासंघ, विद्यालय व्यवस्थापन समिति महासंघ, विद्यार्थी संघ संगठनहरूसँग समेत अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।
फाल्गुण १९ गते दोस्रो चरणका कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । दोस्रो चरणको आन्दोलनको कार्यक्रममा राजधानीमा सांगठनिक शक्ति प्रदर्शन, असहयोग, अवज्ञा (बहिष्कार) तथा अवरोधजन्य कार्यक्रम ल्याइने महासंघले जनाएको छ ।








