काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुस्ताङ जिल्लामा जलवायु परिवर्तनबाट हुने क्षति रोक्नका लागि झण्डै ५० करोड सहयोग उपलब्ध गराउने बताएका छन् । आज मुस्ताङमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुस्ताङ जिल्लामा जलवायु परिवर्तनबाट हुने क्षति रोक्नका लागि झण्डै ५० करोड सहयोग उपलब्ध गराउने घोषणा गरेका हुन् ।
उनले भने, ‘एउटा अन्तर्राष्ट्रिय संस्थाबाट झण्डै ५० करोड सहयोग प्राप्त हुँदैछ, त्यो पचासै करोड मुस्ताङलाई नै हामी दिँदै छौं ।’
यो नेपाल सरकार मुस्ताङ जिल्लाको ऐतिहासिकता, भौगोलिक विशिष्टता, संस्कृति, परम्परा र उत्पादनप्रति सरकार निकै नै संवेदनशील छ भन्ने प्रमाण रहेको उनले बताए । जलवायु परिवर्तन राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय चुनौतीको रुपमा रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले मुस्ताङमा जलवायु परिवर्तनले पुगेको क्षतिलाई रोक्न नेपाल सरकार गम्भीर ढंगले लागेको उनले बताए ।
जलवायु परिवर्तनको असरले हिमालय क्षेत्रको हिउँ अस्वाभाविक ढंगले पग्लिँदा जनजीवनमा प्रभाव र इकोसिस्टममा पुगेको असर निकै गम्भीर प्रकृतिको रहेको प्रधानमन्त्री प्रचण्डले बताए ।
उनले भने, ‘यदि हिमाल र हिमाली क्षेत्रमा भएको जलवायु परिवर्तनको क्षतिबारे विश्व समुदायले ध्यान नदिने हो र ग्लोबल फण्ड त्यस क्षेत्रमा केन्द्रित नगर्ने हो भने ठूलो मानवीय र प्राकृतिक आपदाको स्थिति विश्वले नै सामना गर्नुपर्छ भन्ने कुरा गम्भीरतारुपले राखिएको छ ।’







