काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा पुस १२ गते देखि आठौँ रियल इस्टेट एक्स्पो–२०२३ हुने भएको छ । नेपालमा आवास तथा जग्गा विकासकर्ताहरूको प्रतिनिधित्व गर्ने मुख्य संस्था नेपाल जग्गा तथा आवास विकास संघले आयोजना गर्न लागेको रियल इस्टेट एक्स्पो  पुस १५ गते सम्म  ३ दिनका लागि चल्ने भएको हो ।

 

नेपाल जग्गा तथा आवास विकास सङ्घले उक्त रियल इस्टेट एक्स्पो आयोजना गर्न लागेको हो ।  नेपाल जग्गा तथा आवास विकास महासङ्घ प्रवर्धक भई ललितपुर जग्गा तथा आवास विकास सङ्घ र भक्तपुर जग्गा तथा आवास विकास सङ्घको सह एक्स्पोमा करिब एक लाखभन्दा बढी दर्शकहरूले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

सङ्घले विगतमा सात वटा रियल इस्टेट एक्स्पो सफलतापूर्वक आयोजना गरिसकेको छ । सातौँ एक्स्पोमा २ अर्ब ६५ करोड रूपैयाँको कारोबार भएको थियो भने डेढ लाखले अवलोकन गरेका थिए । आयोजनामा र सिन्थेसिस एण्ड इभेन्ट्स प्रालिको व्यवस्थापनमा यो ८औँ  एक्स्पो आयोजना हुन लागेको हो ।

आयोजकका अनुसार एक्स्पोमा उपभोक्ताले नेपालको आवास तथा जग्गा विकाससम्बन्धी समग्र पक्षहरु बारे पर्याप्त जानकारी प्राप्त गर्न सक्नेछन् ।

 

घरजग्गा बजार र घर खरिदकर्तालाई लक्षित गरी आयोजना हुन लागेको एक्स्पोमा रियल इस्टेट क्षेत्रको व्यावसायिक र व्यापारिक सम्पत्ति, वास्तुकला, निर्माण, भवन, इन्जिनियरिङ, बैंकिङ र बीमाका साथै राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रदर्शकसमेतको सहभागिता रहने आयोजकले जनाएको छ ।

आयोजकका अनुसार, एक्स्पोमा अपार्टमेन्ट र टाउन हाउस कम्प्लेक्स, घडेरी जग्गा, बत्ती तथा विद्युतीय फिक्स्चर, फर्निचर र फर्निसिङ, सिरेमिक, फोहोर व्यवस्थापन, घरजग्गा एजेन्ट, निर्माण सामग्री आपूर्तिकर्ता र वितरक, निर्माण उपकरण तथा सेवाहरू उपलब्ध गराइने छ ।

 

जग्गा तथा भवन विकासकर्ता, जग्गा तथा घर खरिदकर्ता, लगानीकर्ता, उपभोक्ता, घरजग्गा एजेन्ट, इन्जिनियर, आर्किटेक्ट, टाउन प्लानर, इन्टेरियर डिजाइनर, प्रबलीकरण तथा पुनर्निर्माणसम्बन्धी डिजाइनर र निर्माण सामग्री आपूर्तिकर्ता तथा वितरकहरुका साथै निर्माण उपकरण उत्पादक एवं डिलर, प्लम्बर, इलेक्ट्रिसियन तथा लाइटिङ व्यवसायी र अन्य सेवा प्रदायकका लागि एक्स्पो साझा मञ्च हुने आयोजकको दाबी छ ।

त्यसै गरी एक्स्पोमा उपभोक्ताले छनोटअनुसार उपयुक्त मूल्यमा आवास, जग्गा र अपार्टमेन्ट खरिद गर्न सक्ने अवसर पाउनेछन् ।

नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष विदुर धमलाले एक्स्पोमा बिक्री र खरिदकर्तामात्रै नभएर विभिन्न सूचना र ज्ञानको आदानप्रदान पनि हुने तथा घरजग्गासँग सम्बन्धित सम्पूर्ण सामग्री एकै छतमुनि रहने बताए । ग्राहकले घरजग्गा सामग्री मात्रै नभएर घरजग्गाको सम्पूर्ण जानकारीसमेत लिन सक्ने उनको भनाई छ ।   अर्थतन्त्र चलायमान बनाउन घरजग्गाको ठूलो योगदान भएकाले घरजग्गाको कारोबारमा बढ्न आवश्यक रहेको उनले बताए ।

 

नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीले अनौपचारिक रूपमा कारोबार गर्ने व्यवसायीहरूको संख्या बढेकाले औपचारिक ढंगले कारोबार गर्न जोड दिनुपर्ने बताए ।

घरजग्गा व्यवसायी दीपक मल्होत्राले घरजग्गा कारोबार नभएसम्म अर्थतन्त्र चलायमान नहुने बताए । नेपाल राष्ट्र बैंकले लिएको नीति र सरकारले समयमा निर्माण व्यवसायीको भुक्तानी नगर्दा बजारमा पैसा नआउनुले कारोबार गर्न समस्या भएतापनी पछिल्ला दिनमा कारोबार बढ्दै गएकाले तिहारपछि अर्थतन्त्र पूर्ण चलायमान हुने विश्वास ब्यक्त गरे ।