काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक र आरएसडीसी लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । यी दुई संस्थाहरुले लाभांश वितरण प्रयोजनार्थ भोलि (मंसिर ७ गते) बुक क्लोज गर्न लागेका छन् । जसअनुरुप नेप्सेमा आजसम्म कारोबार भई कायम शेयरधनीहरुले यी दुई संस्थाको साधारण सभामा भाग लिन र वितरण गर्ने लाभांश प्राप्त गर्ने योग्य हुनेछन ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकले मंसिर २४ गते, आइतबार आर्मी अफिसर्स क्लब, भद्रकालीमा ३७ औँ वार्षिक साधारण सभा डाकेको छ । बैंकले सभा दिउँसो १ बजे शुरु हुने जनाएको छ ।

सभाले हाल कायम चुक्ता पूँजीको १९ प्रतिशतका दरले नगद लाभांश (कर सहित वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्ने जनाइएको छ ।

त्यस्तै, आरएसडिसी लघुवित्तले मंसिर १५ गते, शुक्रबार वेष्टर्न एशियन होटल प्रा.लि. बुटवल, कालिकास्थानमा दशौँ वार्षिक साधारण सभाको आह्वान गरेको छ । उक्त सभा बिहान ९ बजे शुरु हुने कम्पनीले जनाएको छ ।

सभाले हाल कायम चुक्ता पूँजीको ८.६ प्रतिशतका दरले बोनश शेयर र सोको कर प्रयोजनार्थ ०.४५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

सभाले शेयर स्वामित्व परिवर्तन गरी संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न र मर्जर तथा एक्विजिशनसम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्ने जनाइएको छ ।