काठमाडौँ । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको परिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा र ब्याज आम्दानी दुबै अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा ३ अर्ब ४६ करोड ५३ हजार रुपैयाँ खुद नाफा कमाएको यस बैंकले गत आर्थिक वर्षको सोही अवधिसम्ममा ३ अर्ब ३० करोड ८९ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। यस अवधिमा बैंकको यस्तो नाफा ४.५१ प्रतिशत घटेको हो।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १३.४६ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी १०.२७ प्रतिशत बढेको छ। यस्तै, बैंकको खुद सञ्चालन आम्दानी ७.५३ प्रतिशत र सञ्चालन मुनाफा ४.५३ प्रतिशत घटेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले १ खर्ब १२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ८१ अर्ब १४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

समिक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी १ रुपैयाँ ६६ पैसा घटेर ३५ रुपैयाँ ९ पैसा रहन गएको छ। यस अवधिमा बैंकको प्रतिशेयर नेटवर्थ २१८ रुपेयाँ ४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १७.२१ गुणा रहेको छ।

सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ४९ करोड रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी २६ रुपैयाँ ५० पैसा रहेको छ। यस अवधिमा बैंकको जगेडा कोषमा ११ अर्ब १३ करोड २ लाख रुपैयाँ सञ्चित छ।