काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानि) का कर्मचारीले कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाएका छन्।

कालो ब्यानरसहित कर्मचारीले कार्यकारी प्रमुखको गतिविधिले निगम दिनदिनै धराशायी बनेको उल्लेखसहित कार्यालय प्रवेशमा रोक लगाएका हुन्।

तीन करोड नेपाली जनताको साझा सम्पति राष्ट्रिय ध्वाजावाहक निगम डुबाउन खोज्ने कार्यकारी प्रमुख अधिकारीलाई प्रवेश निषेध गरिएको छ’ भन्ने ब्यानर केन्द्रीय कार्यालयको ढोकामा राखिएको छ।

नेवानि कर्मचारी संघ अध्यक्ष मानबहादुर कुँवरले संस्थाको निगमको हितविपरीत अधिकारीले गतिविधि गरिरहेको आरोप लगाउँदै तत्काल बर्खास्तीको दबाब दिन कार्यालय प्रवेशमा रोक लगाएको बताएका छन्।

ब्यानर राखेसँगै कार्यकारी अध्यक्ष अधिकारीको निर्देशनमा केही कर्मचारीले संघ अध्यक्ष कुँवरमाथि हातपातसमेत भएको उल्लेख छ । ब्यानर राखेपछि अध्यक्ष अधिकारीको निर्देशनमा आफूमाथि हातपात गरेको बताउँदै प्रहरीमा उजुरी दिने तयारी गरिरहेको कुँवरले बताँएका छन्।

पछिल्लो समय निगमको क्षमताभन्दा बढी कर्मचारी भर्ना गरेको ,नेता तथा न्यायाधीशका आफन्तलाई भर्ना गरेर झनै धराशयी बनाइरहेको आरोप संघको छ।

यसअघि कर्मचारीले निगमलाई निजीकरण गर्न खोजेको भन्दै तत्कालीन महाप्रबन्धक डिमप्रकाश पौडेललाई कार्यालय निषेध गरेका थिए।