काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) आवेदन फाराम भर्न नपाएको भन्दै युवाहरूले काठमाडौं उपत्यकामा आन्दोलन गरेका छन् ।

ग्वार्कोस्थित ईपीएस कार्यालयमा युवाहरू भेला भएर आन्दोलन थालेका हुन् । उत्पादनमूलक क्षेत्रका लागि आवेदन दिन नपाएको भन्दै उनीहरूले सो क्षेत्रको सडक अवरुद्ध पार्दै ढुंगामुढा प्रहार गर्दै आएका छन् ।

आन्दोलित युवाहरुले शुक्रबार मध्यान्ह भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा प्रदर्शनकारीहरुले आगजनी गरेका हुन् । आन्दोलन उग्र बन्दै गएपछि प्रहरीले प्रदर्शनकारीलाई तितर वितर बनाउन अश्रुग्यास प्रहार गरेको छ । आगजनीबाट बा २ झ ५८६१ नम्बरको गाडी ध्वस्त बनेको छ भने मन्त्रीचाहिँ सुरक्षित छन् । अहिले आन्दोलनका कारण कोटेश्वर–कलंकी सडकको यातायात प्रभावित भएको छ ।

उच्च अदालत पाटनमा समेत मुद्दा दायर गरिएको थियो । जसमा सुरज पाठकसहित १८ जनालाई आवेदन फाराम भर्न दिन र सबै प्रक्रियामा सहभागी गराउन अन्तरिम आदेश जारी गरेको थियो । अदालतको अन्तरिम आदेश जारी भएपछि ईपीएस कोरिया शाखाले आज फाराम भर्नका लागि कार्यालयमा सम्पर्क गर्न सूचना जारी गरेको थियो ।

ईपीएस कोरिया शाखा कार्यालयका निर्देशक गुरूदत्त सुवेदीले अदालतको आदेश अनुसार १८ जनालाई आवेदन फाराम भर्न सहभागी गराएको बताए । अदालतले १८ जनाको हकमा मात्रै आदेश जारी गरेको भन्दै ईपीएस कार्यालयले उनीहरूलाई मात्रै बोलाएको हो ।