काठमाडौं । अर्थ मन्त्रालयले प्राकृतिक व्यक्तिले तिर्ने ५ प्रतिशत र ७ दशमलव ५ प्रतिशत पूँजीगत लाभकर नै अन्तिम कर हुने बताएपछि आइतबार शेयर बजार उच्च अंकले बढेको छ ।

आइतबार शेयर लगानीकर्ताहरु ब्रोकरको कार्यालयमा टीएमएस बन्द गर्न आह्वान गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतसँग छलफलका लागि सहभागि भएका थिए ।

छलफलमा धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल र आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनालीको पनि उपस्थिति थियो । छलफलमा प्राकृतिक व्यक्तिले तिर्ने पूँजीगत लाभकर नै अन्तिम कर हुने सहमति भएको छ ।

सरकार र लगानीकर्ता बीच भएको सहमति सम्बन्धमा नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले केहिदिन अघि २०८०/ ८१ को बजेटमा कर सम्बन्धि अन्यौलमा आन्तरिक राजस्व विभागले गरेको छलफलमा भएको कुरा नै आइतबार पनि अर्थ मन्त्रालयमा हुबहु सहमति भएको बताइन् । उनले ५ प्रतिशत वा ७ दशमलव ५ प्रतिशत पूँजीगत लाभकर अन्तिम हुने सहमति भएको पनि बताइन् ।

पूँजीगत लाभकर नै अन्तिम हुनुपर्छ भन्दै लगानीकर्ताहरूले आइतबार बिहान ब्रोकर अफिसहरूमा तालाबन्दी गरेका थिए।

सहमतिपछि कारोबार शुरु भएको बजारमा नेप्से परिसूचक नेप्सेमा उच्च अंकले वृद्धि भएको छ । यो दिन बजार ५३ दशमलव ३ अंकले बढेर १ हजार ९१९ दशमलव ३७ को विन्दुले उकालो लागेको छ।

आज कारोबारमा आएका २७० धितोपत्रको ४५ लाख ५७ हजार १६९ कित्ता शेयर ३१ हजार २५२ पटकमा रू. १ अर्ब ६५ करोड बराबरको शेयर कारोबार भएको छ । कारोबार आएका धितोपत्रमध्ये  आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

कारोबारमा आएका १३ओटै समूहगत परिसूचक बढेसँगै नेप्से परिसूचक बढेको छ । समूहगत परिसूचक बढ्नेमा सबैभन्दा बढी होटल एण्ड टुरिजम समूहको परिसूचक ७ दशमलव ३७ प्रतिशत बढेको छ । त्यस्तै दोस्रो निर्जीवन बीमा समूहको ४ दशमलव ५४ प्रतिशत बढेको हो ।

त्यस्तै आइतवार सेन्सेटिभ इन्डेक्स २ दशमलव ६७ प्रतिशत,फ्लोट इन्डेक्स २ दशमलव ७६ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स २ दशमलव ५० प्रतिशत बढेको छ ।