काठमाडौं । मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध संघीय संसद्‍मा उजुरी परेको छ।

रवि लामिछाने समेत सञ्चालक रहेको ग्यालेक्सी टेलिभिजनमा सहकारीको ५२ करोड रुपैयाँ हालिएको दाबी गर्दै यस अगाडि समेत उजुरी दिँदै आएका युवराज सफलले मंगलबार संघीय संसद्‍को राज्य व्यवस्था तथा सुशासन समिति र सभामुख देवराज घिमिरे समक्ष उजुरी दिएका हुन्।

उनले रवि लामिछानेको सहकारी ठगीसम्बन्धी विषयमा आवश्यक छानबिन गर्न संसदीय छानबिन समिति चाहिने बताएका छन् ।

‘संसदीय छानबिन समिति आवश्यक परेकोले तत्काल संसदीय छानबिन समिति गठन गरी दोषीलाई कारबाही र पीडितलाई न्याय दिन सम्माननीय सभामुखसमक्ष नेपाली नागरिकको तर्फबाट प्रस्तुत निवेदन पेश गरेको छु’, उनले भनेका छन्।