काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले दिगो विकासका लागि बीमाको महत्वपुर्ण भुमिका रहने बताएका छन् । उनले सामाजिक, आर्थिक, साइबर जोखिम, वातावरणीय जोखिम न्युनिकरणका क्षेत्रमा बीमाले काम गर्दै आइरहेको बताए । नेपाल बीमा प्राधिकरणले आयोजना गरेको एशियन इन्स्योरेन्स मिट २०२३ लाई संबोधन गर्दै उनले यस्तो बताएका हुन् । ‍

अर्थमन्त्री महतले प्राकृतिक प्रकोप लगायत नयाँ नयाँ उदाउदा जोखिम बढिरहेको सन्दर्भमा यस सम्मेलनले सहयोग गर्ने बताए ।

एशियाली मुलुकमा वातावरण परिवर्तनको जोखिम उच्च रहेकाले भविष्यमा हुन सक्ने आर्थिक तथा भौतिक क्षतिलाई कभर गर्नका लागि बीमा कम्पनी, पुनर्बीमा कम्पनी र ब्रोकरहरुको क्षमता बढाउन उनले सुझाव दिएका छन् ।

पछिल्लो समय नयाँ सूचना तथा प्रविधिको विकासका क्रममा एआई जस्ता प्रविधिको विकास भइसकेको सन्दर्भमा बीमा क्षेत्रले पनि यस्ता प्रविधिलाई अपनत्व गर्नु पर्ने उनले बताए । यस्ता प्रविधिको प्रयोगले बीमाको दायरा थप फराकिलो हुने उनले बताए ।

जोखिमको हस्तान्तरणमा नविनतम उपयहरुको खोजि गरिनु पर्ने अर्थमन्त्री महतको तर्क छ । डा. महतले जोखिम बहन क्षमता बढाउनका लागि एशियाली मुलुकका सबै देशहरुलाई संयुक्त प्रयास गर्न आह्वान गरेका छन् । उनले भने ‘यदि हामी सबैले समन्वयात्मक रुपमा क्षमता बढाउने प्रयास गर्यौ भने दीगो विकासमा सफल हुनेछौ ।’ उनले बीमाले ग्राहकको विश्वास बढाउने काम गर्नु पर्ने तर्क राखे ।

आज सम्मेलनको दोस्रो दिनमा सम्पुर्ण बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतदेखि कर्मचारीको सहभागिता थियो । सम्मेलन भोलिसम्म सञ्चालन हुनेछ ।