काठमाडौँ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारीमा देखिँदै गएको समस्या समाधानका लागि सरकारले कठोर कदम चाल्ने बताए ।
शुक्रवार सहकारी पत्रकार समाजले आयोजना गरेको सहकारीमा दोस्रो तहको नियामक आवश्यकता र औचित्य विषयक छलफल कार्यक्रममा आफ्नो धारणा राख्दै मन्त्री अधिकारीले यस्तो बताएका हुन् । सरकारले सहकारी समस्या समाधानको लागि कठोर कदम चाल्नुको विकल्प नभएको उनले थप गरे ।
मन्त्री अधिकारीले सहकारी समस्याप्रति सरकार चिन्तित रहेको स्मरण गर्दै समस्या समाधानको बाटोमा निरन्तर लागेको दाबी गरे। उनले तीन तहका सरकारले मान्यता दिएका ३१ हजार भन्दा बढी सहकारीको औचित्यको विषयमा प्रश्न उठेको भन्दै मर्ज लगायतका विषयमा छलफल हुन आवश्यक रहेको बताए ।
उनले भने, ‘तीन तहका सरकारले मान्यता दिएका ३१ हजार ३ भन्दा बढी सहकारीहरू छन् । अझै यकिन तथ्याङ्क आएको छैन। नेपाल जस्तो सानो मुलुकमा यति धेरै सहकारी आवश्यक छ छन् भन्ने प्रश्न आइरहेको छ । यी सहकारीलाई कसरी व्यवस्थापन गर्ने हो ।
अहिले नेपाल सरकारले सहकारी खोल्न रोक लगाएको छ । भएका सहकारीलाई पनि मर्ज गर्नु आवश्यक छ । सहकारी क्षेत्रमा देखिएका समस्याको विषयमा सहकारी अभियान्ताहरु चिन्तित हुनुहुन्छ । यो विषयमा सरकार पनि चिन्तित छ । सहकारी समस्या समाधान गर्न सरकारले कठोर कदम चाल्नुपर्छ।’