काठमाडौँ । नेपाली नागरिकलाई चीनले भिसा निःशुल्क गरेको छ । नेपालस्थित चिनियाँ दूतावासका अनुसार १ मे २०२४ देखि नेपाली नागरिकबाट चिनियाँ भिसा शुल्क नलिने निर्णय भएको छ ।
उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले हालै गरेको चीन भ्रमणको क्रममा नेपालीलाई भिसा निःशुल्क गर्न चिनियाँ पक्षलाई आग्रह गरेका थिए । नेपालका लागि चिनियाँ राजदूत छन् सङले दुई देशबिचको सम्बन्धलाई प्रवर्द्धन गर्न र सेवालाई थप सहज बनाउन यस्तो निर्णय लिइएको जानकारी दिएका छन्।
दूतावासका अनुसार नियमित भिसा शुल्क नलागे पनि एक्सप्रेस शुल्क र सेवा शुल्क भने लाग्ने जनाइएको छ । चिनियाँ दूतावासले नियमित, एक्सप्रेस–१ र एक्सप्रेस–२ भिसाका लागि शुल्क लिने गरेको थियो । नियमित शुल्क अब लाग्ने छैन ।
दूतावासले एक्सप्रेस–१ का लागि ४०० र एक्सप्रेस–२ का लागि २ हजार ७०० रुपैयाँ लिने छ । यसै गरी ग्रुप भिसातर्फ एक्सप्रेस–१ का लागि २ हजार र एक्सप्रेस–२ का लागि १ हजार ३५० रुपैयाँ लाग्ने दूतावासले जनाएको छ ।
यसै गरी भिसा सेन्टरले नियमित भिसाका लागि सेवा शुल्कवाफत् ३ हजार ९०० रुपैयाँ लिनेछ । एक्सप्रेस–१ का लागि ७ हजार ८०० र एक्सप्रेस–२ का लागि ५ हजार ८५० रुपैयाँ तोकिएको छ ।