सिरहाको बरियारपट्टी क्षेत्र पछिल्लो समय जनसंख्या र व्यापारिक गतिविधिका हिसाबले तीव्र रूपमा विस्तार हुँदै गएको भन्दै यहाँको भन्सार नाका व्यवस्थित रूपमा सञ्चालन गरिएको भए अन्य सीमावर्ती नाकाभन्दा ठूलो र राजस्व संकलनमा अग्रणी बन्न सक्ने सरोकारवालाहरूले बताएका छन्।

यसै सन्दर्भमा, भन्सार कार्यालय बन्द गर्ने सरकारी निर्णयप्रति तीव्र असन्तुष्टि व्यक्त गर्दै सांसद यादवले यसलाई ‘राजनीतिक प्रतिशोध र गलत नीति’ को संज्ञा दिएका छन्। उनका अनुसार राज्यले सेवा विस्तार गर्नुपर्ने बेला उल्टै सेवा कटौती गरेर जनतालाई दण्डित गर्ने काम भइरहेको छ। उनले सिरहावासीले यस्तो निर्णय स्वीकार नगर्ने चेतावनी दिँदै भन्सार कार्यालय बन्द गर्नु नीतिगत भ्रष्टाचारतर्फ उन्मुख कदम भएको आरोप लगाए। साथै आन्दोलनलाई थप सशक्त बनाउन उनले आन्दोलनकारीहरूलाई आह्वान पनि गरेका छन्।

आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले ‘छोटी भन्सार फिर्ता गर’, ‘अर्थमन्त्री होसियार’, ‘हाम्रो माग पूरा गर’ जस्ता नाराबाजी गर्दै विरोध जनाएका छन्। यसअघि उनीहरूले बिहीबार बिहान करिब पाँच घण्टा हुलाकी मार्ग अवरुद्ध गरेका थिए भने दिउँसो करिब २ बजे जिल्ला प्रशासन कार्यालय, सिरहामा ज्ञापनपत्र बुझाएका थिए।

यस्तै, शुक्रबार पनि सडक जाम तथा बजार बन्द गरेर आन्दोलनलाई निरन्तरता दिइएको स्थानीय तथा विद्यार्थी नेता दिपेन्द्र यादवले जानकारी दिएका छन्। उनका अनुसार वैशाख २७ गते दिनभर बजार बन्दसँगै मसाल जुलुस निकाल्ने कार्यक्रम तय गरिएको छ भने वैशाख २८ गतेदेखि अनिश्चितकालीन आमहड्तालको तयारीका लागि बृहत् छलफल गरिनेछ।

शनिबार बिहानदेखि नै बरियारपट्टी गाउँपालिका–३ स्थित बरियारपट्टी चोकमा प्रदर्शनकारीहरूले सडकको बीचभागमा अवरोध खडा गर्दै हुलाकी मार्ग अवरुद्ध गरेका छन्। सडक अवरुद्ध हुँदा पूर्व–पश्चिम आवागमन प्रभावित भएको छ भने नेपाल–भारत आवतजावत गर्ने यात्रुहरूले समेत सास्ती खेप्नु परेको छ।