काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नीतिगत स्थायित्व आर्थिक सुधारको पूर्व सर्त भएको बताएका छन्।

महासंघमा आयोजित राजश्व सम्बद्ध चार महानिर्देशकहरूसँगको छलफल कार्यक्रममा आफ्नो विचार राख्दै अध्यक्ष ढकालले हरेक वर्ष परिवर्तन हुने नीतिका कारण लगानी निरुत्साहित हुँदै गएको बताए ।

आन्तरिक राजश्व विभाग, भन्सार विभाग, राजश्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशकहरूको उपस्थितिमा महासंघमा आयोजित कार्यक्रममा अध्यक्ष ढकालले कृषिजन्य वस्तुको आयातमा लागेका अग्रिम आयकर, फलामे छडको अन्तःशुल्कका विषय आउन थालेको विवाद, नयाँ करका दरहरू लगायतका विषयमा सरकार संवेदशिल हुनुपर्ने भनाई राखे।

भूत भावी कानुन, करका दरहरूमा हुने परिवर्तन र निजी क्षेत्रप्रतिको धारणाका कारण सरकारको राजश्व पनि अपेक्षित रूपमा उठ्न नसकेको ढकालको भनाई छ । यसै गरी नेपालमा सयौँ वर्षदेखि निरन्तर व्यवसाय चलिरहेको र आधुनिक कर सम्बन्धी कानुनहरू मात्रै आएको हुँदा सम्पत्ति अभिलेखीकरणको अवसर सबैलार्ई प्रदान गरिनुपर्नेमा जोड दिए ।