काठमाडौँ । संसद् सचिवालयले संसदीय क्यालेन्डर तयार पारेको छ । जस अनुसार आजदेखि बजेटको मन्त्रालयगत छलफल सुरु भएको छ ।
असार ७ गतेसम्म हरेक दिन निरन्तर छलफल चलाउने र बजेट पारित गरेपछि मात्रै प्रतिनिधि सभाको अर्को बैठकका लागि ग्याप राख्ने गरी संसदीय क्यालेन्डर तयार पारिएको छ ।
उक्त क्यालेन्डर अनुसार असार ७ गते बजेट पारित भएपछि पाँच दिन छुट्टी गरिने भएको छ। असार ७ गतेपछि प्रतिनिधि सभाको अर्को बैठक असार ११ गते राख्ने कार्य तालिकामा समावेश गरिएको छ ।
प्रस्तुत क्यालेन्डर अनुसार नै बुधवार सहरी विकास, रक्षा, महिला, बालबालिका तथा जेष्ठ नागरिक र कानुन न्याय तथा तथा संसदीय मामिला मन्त्रालयको बजेटमाथि छलफल हुनेछ ।
जेठ ३१ गते बिहीबारका दिन उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बजेटमाथि छलफल गरिने भएको छ ।
जेठ ३२ गते वन तथा वातावरण, खानेपानी, सञ्चार तथा सूचना प्रविधि र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको बजेटमाथि छलफल हुनेछ । त्यस्तै असार २ गते संघीय मामिला तथा सामान्य प्रशासन, ऊर्जा, जलस्रोत तथा सिँचाइ र अर्थ मन्त्रालयको बजेटमाथि छलफल हुने कार्यपालिका रहेको छ ।
असार ४ गते गृह, परराष्ट्र, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयसँग सम्बन्धित बजेटमाथि छलफल हुनेछ ।
त्यस्तै असार ५ गतेदेखि सम्बन्धित मन्त्रीले जवाफ दिन थाल्नेछन् । असार ५, ६ र ७ गते सम्बन्धित मन्त्रीहरूले जवाफ दिएपछि बजेट पारित गर्ने कार्यपालिका छ ।







