काठमाडौँ । लुम्बिनी विकास कोषका पूर्व योजना प्रमुख समेत रहेका इन्जिनियर सरोज भट्टराई भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।
भट्टराईलाई विशेष अदालतले दोषी ठहर गर्दै ६ वर्ष कैदको सजाय सुनाएको छ। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यद्वय तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले अकुत सम्पत्ति आर्जनको मुद्दामा भट्टराईलाई सजाय तोकेको हो ।
गत चैत २५ गते, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भट्टराईविरुद्ध मुद्दा दायर गरेको थियो ।त्यसको दुई महिनामै विशेष अदालतले फैसला गर्दै सजाय निर्धारण गरेको छ । अदालतले भट्टराईलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै अकुत सम्पत्ति आर्जनको मुद्दामा ६ वर्ष कैद र ८० लाख जरिवानाको सजाय निर्धारण गरेको हो।
अख्तियारका अनुसार इन्जिनियर भट्टराईले पदको दुरुपयोग गर्दै कोषका ठेकेदारबाट ८० लाख रुपैयाँ भ्रष्ट्राचार गरेको र त्यो रकम जग्गामा लगानी गरेका थिए । भट्टराईले कोषका वरिष्ठ इन्जिनियर पदका कर्मचारी थिए ।
यद्यपि उनी ७ वर्षयता योजना प्रमुखका रूपमा नियुक्त भएर काम गरिरहेका थिए । विकास कोषमा पदाधिकारी नभएको समयमा उनी विभिन्न समयमा निमित्त भएर पनि काम गरेका थिए।






