काठमाडौं । लुम्बिनी विकास कोषको परिषद् बैठकले आर्थिक वर्ष २०८१–८२ को बजेट पारित गरेको छ । कोषका अध्यक्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा बसेको परिषद् बैठकले बजेट पारित गरेको हो ।
परिषद्ले ७७ करोड ५५ लाख ९२ हजार रुपैयाँको आय व्यय अनुमानित बजेट पारित गरेको हो । कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले प्रस्ताव गरेको बजेटमा आन्तरिकतर्फ ३२ करोड ५५ लाख ९२ हजार रुपैयाँ र सरकारको अनुदान ४५ करोड रुपैयाँ गरी आम्दानी खर्चको अनुमान गरेको हो ।
प्रस्तुत बजेट नीति र कार्यक्रमले आय बढाउन दर्शनार्थीको सङ्ख्या बढाउने, दियो बत्तीको सेवालाई थप वृद्धि विस्तार गर्ने, उपहार, दान तथा चन्दा व्यवस्थापन गर्ने, काठ लिलाम बिक्री, पार्किङ, लुम्बिनी प्रवद्र्धनात्मक सामग्री उत्पादन र वितरणमा प्राथमिकता दिएको छ ।
व्ययतर्फ लुम्बिनी गुरुयोजनाको कार्यान्वयन, युनेस्को विश्व सम्पदा कमिटीका सुझाव कार्यान्वयन, पूर्वाधार निर्माण, तिरौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने र पालिकासँगका सहकार्य व्यय गर्ने योजना प्राथमकितामा छन् ।






