काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गिरिबन्धु टिस्टेटको जग्गामा काँग्रेसले कमिसन खाएर बेचेको आरोप प्रमाणित गर्न नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चुनौती दिएका छन् ।

आज काठमाडौँमा आयोजित लैङ्गिक समानता अभिवृद्धिका लागि नेपाल महिला संघको भावी कार्य योजना निर्माण विषयक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै शर्माले यस्तो बताएका हुन् ।

उनले ०५२ सालमा एमालेकै सरकार रहेको, २०६० सालको सरकार सूर्यबहादुर थापाको सरकार रहेको तर काँग्रेसले भूमि सुधार मन्त्रालयको जिम्मा नलिएको र ०७८ सालमा केपी शर्मा ओलीकै सरकार रहेको स्मरण गर्दै गिरिबन्धु प्रकरणमा काँग्रेसले यदि कुनै जग्गा कमिसन खाएर बेचेको एक टुक्रा माटो भए गिरिबन्धुको फाइल खोल्न र छानबिन समिति बनाउन चेतावनी दिएका छन् ।

शर्माले एमाले अध्यक्ष ओलीले आवेगमा आएर प्रश्न उठाएको भए पनि काँग्रेस आवेगले उठाएको प्रश्नलाई विवेकले जवाफ दिन पछि नपर्ने बताए । साथै शर्माले केपी ओलीलाई आफूले श्रद्धा गर्ने बताएका छन् । उनले भने  म केपी कमरेडलाई श्रद्धा गर्दछु, मेरो जिल्लावासी नेता हो । मेरो जिल्लाको दुई नेतालाई तुलनात्मक रूपले बढी श्रद्धा गर्दछु । थुप्रै नेता हुनुहुन्छ । एउटा नेता कृष्णप्रसाद सिटौला, जो मेरो पार्टीकै नेता हुनुहुन्छ, अर्को नेता मेरो पार्टीको नेता होइन होला । तर राष्ट्रको नेता हुनुहुन्छ, कमरेड केपी ओली । श्रद्धा गर्ने कुरामा म कहिल्यै कम्परमाइज गर्दिन तर प्रश्नमा म उत्तिकै लाग्छु ।