काठमाडौँ । नेपालको सार्वजनिक ऋण दायित्व २४ खर्ब ३३ अर्ब रुपैयाँ बढी पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार एक नेपालीको टाउकोमा ८३ हजार ४३१ रुपैयाँ सार्वजनिक ऋणको भार पर्न गएको छ ।

आर्थिक वर्ष २०७९/८० सम्म प्रतिव्यक्ति ऋण दायित्व ७८ हजार ८४० रुपैयाँ रहेको थियो । एक वर्षको अवधिमा प्रतिव्यक्ति ऋण भार नै ४ हजार ५९१ रुपैयाँले बढ्न पुगेको छ ।  पछिल्लो एक वर्षमा सरकारले कुल ३ खर्ब ५८ अर्ब रुपैयाँ ऋण लिएको छ ।

यस्तो ऋण दायित्व नागरिकले प्रत्यक्ष तिर्नु नपरे पनि नागरिकबाट उठाएको करबाटै भुक्तानी गरिने भएका कारण प्रतिव्यक्ति ऋण दायित्वलाई महत्त्वका साथ हेर्ने गरिन्छ । यसबिचमा सार्वजनिक ऋणको सावाँ भुक्तानी २ खर्ब ४३ अर्ब रुपैयाँ बराबर भएको छ ।

यस प्रकार एक वर्षको अवधिमा १ खर्ब २३ अर्ब ६० करोड रुपैयाँ बराबर सार्वजनिक ऋण थप भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार अघिल्लो वर्ष २०७९/८० को तुलनामा यस वर्ष सार्वजनिक ऋणको वृद्धिदरमा भने  सामान्य गिरावट आएको छ ।

नेपालको सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादनको आधारमा ४३ प्रतिशत हाराहारी रहेको कार्यालयको तथ्यांक छ। आव २०८०/८१ सम्मको सार्वजनिक ऋण जीडीपीको ४२.६५ प्रतिशत हो। यसमा पनि आन्तरिक ऋणको हिस्सा जीडीपीको २०.७० प्रतिशत र बाह्य ऋणको हिस्सा २१.९५ प्रतिशत रहेको छ ।